काठमाडौं। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

“हाम्रो साझा प्रतिबद्धता : लागुऔषधमुक्त युवा, मानव बेचबिखनमुक्त समाज– सुरक्षित भविष्य, समृद्ध नेपाल” भन्ने मूल नारासहित प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोङ्गबुले आइतबार आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्देश्य युवालाई लागुऔषध दुर्व्यसनबाट जोगाउने, मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने तथा समुदायमा सुरक्षा सचेतना फैलाउने रहेको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी राठौरले अपराधमुक्त, सभ्य र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको साझेदारी र सहकार्य अपरिहार्य रहेको बताए। उनले लागुऔषध दुर्व्यसन र मानव बेचबिखनजस्ता सामाजिक अपराध नियन्त्रणमा सबै सरोकारवाला निकाय, समुदाय र युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।

सप्ताहव्यापी अभियानअन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय