धनगढी । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नवराज कार्की ले सडक दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक र भावनात्मक अभियान सञ्चालन गर्ने तयारी गरेका छन्।

उनले चालकहरूको मनोविज्ञानलाई सकारात्मक रूपमा प्रभाव पार्ने उद्देश्यले सवारी साधनको अगाडिको भागमा आफ्ना छोराछोरीको फोटो टाँस्ने अभियान सुरु गर्ने सोच सार्वजनिक गरेका हुन्।

एसपी कार्कीका अनुसार चालकले सवारी चलाउने क्रममा बारम्बार आफ्ना परिवार र सन्तानको अनुहार देख्दा उनीहरूमा जिम्मेवारीबोध बढ्ने, तीव्र गति, लापरबाही र जोखिमपूर्ण व्यवहारमा कमी आउन सक्ने विश्वास गरिएको छ। यस्तो अभियानले चालकलाई सुरक्षित यात्राप्रति थप सचेत बनाउने अपेक्षा गरिएको उनले बताएका छन्।

उनले सडक दुर्घटना न्यूनीकरणका लागि कानुनी कारबाही मात्र पर्याप्त नहुने उल्लेख गर्दै मानवीय संवेदना, व्यवहार परिवर्तन र जनचेतनामूलक कार्यक्रम पनि उत्तिकै प्रभावकारी हुने धारणा व्यक्त गरेका छन्।

ट्राफिक विज्ञहरूका अनुसार चालकको व्यवहार परिवर्तन गर्ने यस्ता सिर्जनात्मक र सकारात्मक अभियानले सडक सुरक्षाप्रति चेतना अभिवृद्धि गर्न सहयोग पुर्‍याउन सक्छ। यदि प्रभावकारी रूपमा कार्यान्वयन गरियो भने यसले दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिम ट्राफिक प्रहरीको यो अवधारणालाई सडक सुरक्षाका लागि नवीन, मानवीय र सकारात्मक पहल का रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय