कास्की । कास्की प्रहरीले पोखराबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध एलएसडी (LSD) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। नाइजेरियाबाट हुलाकमार्फत लागुऔषध मगाइएको विशेष सूचनाका आधारमा निगरानी बढाएको प्रहरीले सामग्री बुझ्न आएका भारतीय नागरिक आयुष अजितलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको जानकारीअनुसार पोखरा महानगरपालिका–७ स्थित हुलाक कार्यालय बाहिरबाट उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट १ हजार पत्ता एलएसडी बरामद गरिएको छ।

प्रहरी अनुसन्धानबाट खुलेअनुसार पर्यटकका रूपमा पोखरा आएका अजित लेकसाइडस्थित एक होटलमा बस्दै आएका थिए। उनले आफू बसेकै होटलको ठेगानामा हुलाकमार्फत उक्त प्रतिबन्धित लागुऔषध मगाएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ। बरामद लागुऔषधको परिमाण, यसको सम्भावित बजार तथा वितरण सञ्जालबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, यस घटनामा अन्य व्यक्तिको संलग्नता रहेको हुन सक्ने आशंकामा थप खोजी तथा अनुसन्धानलाई तीव्रता दिइएको एसपी कार्कीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय