
कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा सम्पन्न “The Police of the Month Recognition Luncheon” कार्यक्रममार्फत जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मातहत इलाका प्रहरी कार्यालय पिपरामा कार्यरत प्रहरी निरीक्षक अर्जुन पौडेललाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ का रूपमा सम्मान गरिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (प्र.ना.म.नि.) भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा निरीक्षक पौडेललाई कदरपत्र तथा पुरस्कार प्रदान गरिएको हो ।


२०८२ साल फागुन महिनाको कार्यसम्पादन मूल्यांकनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पौडेलले आफ्नो कार्यक्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा नागरिकसँग सहकार्य गर्दै प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको मूल्यांकन गरिएको छ ।
कार्यक्रम अन्तर्गत आयोजित “The Police of the Month Recognition Luncheon” विशेष समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी प्रमुखसँग औपचारिक भोजनमा सहभागी गराइने परम्परा रहेको छ । यसले सम्मान तथा प्रशंसा मात्र नभई प्रहरी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्ने, कार्यक्षेत्रका अनुभव आदान–प्रदान गर्ने तथा सेवा प्रवाह र समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्य राखिएको छ ।
सम्मानित भएपछि निरीक्षक पौडेलले प्राप्त उपलब्धिलाई व्यक्तिगत नभई समग्र प्रहरी संगठनको टिमवर्क र समुदायको सहकार्यको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ जिम्मेवारीपूर्वक सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



