
काठमाडौँ । राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विदेशी नागरिकमाथि भएको लुटपाट घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा घटनाको सीसीटिभी दृश्य सार्वजनिक भएसँगै प्रहरी अनुसन्धानमा तीव्रता आएको थियो।
शनिबार राति करिब ११ बजेतिर ठमेलको भगवान् बहाल क्षेत्रमा जर्मन नागरिकलाई लक्षित गर्दै तीन जनाको समूहले आइफोन लुटेको खुलेको छ। घटनापछि उक्त भिडियो तीव्र रूपमा फैलिएको थियो, जसले प्रहरीलाई आरोपित पहिचान गर्न सहज बनायो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ।
पक्राउ पर्नेहरूमा गोरखा अजिरकोट स्थायी घर भई चमती बस्दै आएका साजन परियार, धादिङ त्रिपुरासुन्दरीका दीपेश परियार तथा बाराको निजगढ घर भई काठमाडौँमा बसोबास गर्दै आएका रचित चौधरी रहेका छन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी राखेको जनाएको छ।



