पोखरा । पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा अनैतिक क्रियाकलाप, लुटपाट तथा पर्यटकलाई हैरानी दिने कार्यमा संलग्न १६ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले आइतबार राति साढे १२ बजेदेखि २ बजेसम्म विशेष अपरेसन सञ्चालन गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

लामो समयदेखि लेकसाइडका सडकमा आन्तरिक तथा विदेशी पर्यटकलाई अनावश्यक दुःख दिने र प्रलोभनमा पारेर रकम असुल्ने गुनासो बढ्दै गएपछि प्रहरीले छापा मारेको जनाएको छ। कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पक्राउ परेकाहरूले पर्यटकलाई विभिन्न बहानामा नजिकिने र मौका मिल्नासाथ लुटपाट गर्ने गरेको पाइएको छ। पक्राउ परेकामध्ये केही यसअघि पनि यस्तै गतिविधिमा संलग्न ‘पटके’ अभियुक्त रहेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय बैदामका इन्चार्ज डीएसपी नमराज भट्टराईका अनुसार उनीहरूको ठगी गर्ने शैली सुनियोजित र संगठित रहेको देखिएको छ। प्रारम्भिक अनुसन्धानमा केहीले अनैतिक सम्बन्धको बहाना बनाउँदै पहिले रकम लिने र होटल नजिक पुगेपछि ‘श्रीमान् आयो’ भन्दै डर देखाएर रकमसहित फरार हुने गरेको खुल्न आएको छ।

पक्राउ परेकामध्ये १८ वर्ष मुनिका किशोरीहरूलाई पुनर्स्थापना केन्द्र पठाइएको छ भने अन्यविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। केहीलाई अभिभावकको जिम्मामा छोडिने प्रहरीले जनाएको छ।

पर्यटकीय राजधानी पोखराको छविमा नकारात्मक असर पार्ने यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले ‘क्लिन लेकसाइड’ अभियान सुरु गरेको छ। डीएसपी भट्टराईले कमाण्ड सम्हालेपछि लेकसाइड क्षेत्रमा हुने गुण्डागर्दी तथा डान्स बारमा देखिएको बाउन्सर दादागिरीविरुद्ध पनि कडाइ गरिएको छ।

‘लेकसाइडलाई विकृति र विसंगतिमुक्त बनाउने हाम्रो अभियान जारी छ। शान्ति सुरक्षामा खलल पुर्‍याउने र खुलेआम यस्ता गतिविधिमा संलग्न हुनेलाई कुनै हालतमा छुट दिइने छैन,’ डीएसपी भट्टराईले बताएका छन्। प्रहरीले लेकसाइडलाई सुरक्षित र मर्यादित बनाउन स्थानीय बासिन्दासँग सहकार्यको अपिलसमेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय