
कास्की, ७ वैशाख । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णु बहादुर राजभाट, पोखरा–९ नयाँबजार बस्ने भारत घर भएका ३१ वर्षीय अमिर उल्ला मिया, पोखरा–१७ बस्ने मोरङ घर भएकी २१ वर्षीया महिला र पोखरा–८ बस्ने सिन्धुली घर भएकी ३१ वर्षीया महिला रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा पीडितहरूलाई विभिन्न प्रलोभन देखाउँदै खानबस्न सुविधा र राम्रो तलबको आश्वासन दिई होटलमा काम लगाउने बहानामा अनैतिक कार्यमा संलग्न गराउने गरिएको खुलेको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



