
काठमाडौं । काठमाडौंको गोकर्णदेखि बल्खुसम्मको बागमती नदी करिडोरमा सीसीटीभी जडान गरिने भएको छ। नागरिक सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन उक्त क्षेत्रमा निगरानी प्रणाली स्थापना गर्ने सम्बन्धमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारी पत्रमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले हस्ताक्षर गर्नुभएको हो।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले नागरिकको शान्ति सुरक्षालाई ध्यानमा राख्दै गरिएको यस लगानीप्रति नेपाल प्रहरीको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सीसीटीभी जडानले अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, समितिका निर्देशक मचाकाजी महर्जनले नागरिक सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यस पहलले बागमती करिडोरलाई अझ सुरक्षित र व्यवस्थित बनाउन योगदान पुग्ने बताउनुभयो।
कार्यक्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका पदाधिकारीहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।



