काठमाडौँ—  न्युरोडबाट प्रहरीले २० लाखभन्दा बढी नगदसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने युवक सिन्धुपाल्चोक जिल्ला, बाह्रबिसे नगरपालिका–४ का २४ वर्षीय संजय बस्नेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

प्रहरीका अनुसार संजय बस्नेतको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ २० लाख २९ हजार नगद बरामद गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्त्ता एसपी अपिल बोहराले सुरक्षा सरोकारसँग कुरा गर्दै रकमको श्रोत खुल्न नसकेको र शंका लागेपछि बस्नेतलाई नियन्त्रणमा लिइएको बताए।

प्रहरीको विशेष सूचनाका आधारमा चेकजाँच गर्दा बस्नेतसँग रहेको रकमबारे स्पष्ट विवरण नदिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानमा उनी उक्त रकम काठमाडौँमा हुण्डी कारोबारको सिलसिलामा ल्याएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

हाल उनलाई आवश्यक अनुसन्धानका लागि म्याद थप गराई थप अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले हुण्डी, अवैध कारोबार तथा शंकास्पद नगद कारोबारमा संलग्न व्यक्तिहरूको खोजी र निगरानी तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय