
जनकपुरधाम । सिराहामा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विशेष सूचनाका आधारमा शनिबार राति सिराहा नगरपालिका–१५ स्थित बुधौरामा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२–००१ प ००७० नम्बरको मोटरसाइकललाई रोकेर जाँच गरिएको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक गोलबजार नगरपालिका–७ का २६ वर्षीय राकेश यादव पक्राउ परेका हुन्। प्रहरीका अनुसार मोटरसाइकलको भाइजरभित्र कालो प्लास्टिकमा लुकाएर राखिएको अवस्थामा ६ ग्राम १३० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
सिराहा प्रहरी प्रवक्ता रमेशबहादुर पालका अनुसार पक्राउ परेका यादवलाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको छ।




