
काठमाडौं, असार ७ । केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका लागुऔषध मुद्दाका एक प्रतिवादीलाई लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले पक्राउ गरेको छ।
लागुऔषध कारोबार हुन सक्ने शंकास्पद स्थानहरूको नियमित निगरानी गर्ने क्रममा ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३ स्थित शंखपार्क क्षेत्रबाट फरार प्रतिवादी प्रभु राम राईलाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार ४६ वर्षीय राई चितवनको राप्ती नगरपालिका–२, पिप्ले निवासी हुन्। उनी केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका थिए। पक्राउ परेका राईविरुद्ध १० ग्राम ब्राउन हेरोइन सम्बन्धी लागुऔषध मुद्दा दर्ता भएको थियो।
उक्त मुद्दा २०७९ असोज २८ गते दर्ता भएको थियो भने लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले अनुसन्धान तथा मुद्दा चलाएको जनाएको छ। मुद्दा हाल अदालतमा फैसला हुन बाँकी रहेको ब्युरोले जनाएको छ।
पक्राउ परेका राईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार सुन्धारा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
लागुऔषध नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तर प्रभावकारी बनाइने ब्युरोले जनाएको छ।



