
काठमाडौं । सामाजिक न्याय, सुशासन तथा नागरिक सचेतनाको प्रवर्द्धनमा खोज पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार जीवन शर्मालाई ‘खोज पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको छ।
ओझेलमा परेका यथार्थ, उत्पीडित समुदायका पीडा तथा सीमान्तकृत नागरिकका आवाजलाई तथ्य र प्रमाणका आधारमा निर्भीकतापूर्वक सार्वजनिक गर्दै खोज पत्रकारिताको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप कोरिया शैक्षिक परामर्श संघ नेपाल (केकान) ले शर्मालाई उक्त सम्मान प्रदान गरेको हो।

संस्थाले शर्माको वैचारिक स्पष्टता, व्यावसायिक निष्ठा तथा सार्वजनिक उत्तरदायित्वप्रतिको समर्पणलाई सम्मानको प्रमुख आधार मानेको जनाएको छ।
को हुन् सम्मानित शर्मा ?
गोरखा जिल्लाको साविक दहरबुङ्गा गाविस–६ (हाल गण्डकी गाउँपालिका–५) मा वि.सं. २०४० साल कार्तिक १५ गते जन्मिएका शर्माले सामान्य ग्रामीण परिवेशबाट संघर्षपूर्ण जीवनयात्रा प्रारम्भ गरेका थिए। पिता विष्णुप्रसाद खनाल र माता दुर्गादेवी खनालका ज्येष्ठ सुपुत्र शर्माले प्रतिकूल परिस्थितिलाई अवसरमा रूपान्तरण गर्दै पत्रकारितालाई आफ्नो कर्मक्षेत्र बनाएका हुन्।
वि.सं. २०६१ वैशाख १४ गते न्यु एक्टिभ मिडियाबाट पत्रकारिता तालिम लिएपछि उनले पोखरा एफएम ९५.८ मेगाहर्जबाट प्रसारित ‘लोक सुसेली’ र ‘पल–प्रतिपल’ कार्यक्रममार्फत सञ्चार यात्राको सुरुआत गरेका थिए। त्यसयता रेडियो, छापा तथा अनलाइन माध्यममार्फत जनसरोकारका विविध विषयमा कलम चलाउँदै उनले खोज पत्रकारितामा छुट्टै पहिचान स्थापित गरेका छन्।
नेसनल अफ्लिमेन्ट, न्युजलाइन्स नेपाल डटकम, डिजिटल खबरलगायत विभिन्न सञ्चारमाध्यम हुँदै उनका अनुसन्धानमूलक समाचार, विशेष रिपोर्ट तथा फिचरहरू स्थानीय सरोकार, जनसवाल, राष्ट्रिय दैनिक र मध्यान्ह दैनिकलगायतका माध्यममा नियमित रूपमा प्रकाशित हुँदै आएका छन्।
सीमावर्ती क्षेत्रका अनियमितता, वन पैदावार तस्करी, सार्वजनिक सम्पत्तिको दुरुपयोग, भ्रष्टाचार, प्रशासनिक विकृति तथा अवैध कारोबारजस्ता विषयमा उनले तयार पारेका सामग्रीहरूले सम्बन्धित निकायलाई जवाफदेही बन्न दबाब सिर्जना गर्नुका साथै समाजमा सकारात्मक बहसको वातावरण निर्माण गरेका छन्।
हाल स्थानीय सरोकार पत्रिका तथा निगरानी दैनिक डटकम सञ्चालन गरिरहेका शर्माले सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारितामार्फत लोकतान्त्रिक मूल्य, सुशासन तथा नागरिक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।
‘सत्यको खोज अविराम रहनेछ’
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै शर्माले खोज पत्रकारिता सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिने दायित्वपूर्ण अभ्यास भएको बताए।
उनले भने, “सत्य लेख्न सक्नु खोज पत्रकारिताको आत्मा हो, तर यो यात्रा चुनौती र जोखिमले भरिएको हुन्छ।”
खोज पत्रकारिताको क्रममा आर्थिक अभाव, विभिन्न दबाब, भौतिक धम्की तथा मानसिक तनावसमेत झेल्नुपरेको अनुभव सुनाउँदै उनले कठिनाइका बाबजुद सत्यको खोजलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
सम्मान प्रदान गर्दै आयोजक संस्थाले शर्माको निर्भीकता, तथ्यमा आधारित अनुसन्धान, निष्पक्ष रिपोर्टिङ तथा सामाजिक उत्तरदायित्वप्रतिको अटल प्रतिबद्धता अनुकरणीय रहेको उल्लेख गरेको छ। संस्थाका अनुसार उनको योगदानले भावी पुस्ताका पत्रकारलाई सत्यनिष्ठ, साहसी तथा अनुसन्धानमुखी पत्रकारिताप्रति आकर्षित गर्दै व्यावसायिक इमान्दारिताको मार्गमा प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।



