
सुरक्षा सरोकार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) स्थापना नै देशमा देखिएका बेथिति, विसंगति, कानुनको असमान कार्यान्वयन, सुशासनको अभाव तथा पारदर्शिताको कमीविरुद्ध आवाज उठाउने उद्देश्यसहित भएको मानिन्छ। पार्टी गठन भएको छोटो समयमै प्रतिनिधिसभा निर्वाचनमा २१ सिट जित्दै राष्ट्रिय राजनीतिमा उल्लेखनीय उपस्थिति जनाएको थियो।
यसबीच पार्टी सभापति रवि लामिछानेमाथि राज्य संयन्त्रको प्रयोग गरेर राजनीतिक प्रतिशोध गरिएको आरोप पार्टी पंक्तिमा बारम्बार उठ्दै आएको छ। यस्ता चुनौतीपूर्ण घडीमा खुलेर समर्थन गर्दै निर्भीक रूपमा आफ्नो अडान राख्ने नेतामध्ये अधिवक्ता गोविन्द पन्थी अग्रपंक्तिमा देखिन्छन्।

गोविन्द पन्थी यसअघि नेपाल प्रहरीमा रहँदा चर्चित भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टोलीमा संलग्न थिए। साथै भिजिट भिसामार्फत हुने मानव तस्करी प्रकरणमा उनले डीएसपीका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। ती प्रकरणहरूले राज्य संयन्त्रभित्रै व्यापक तरंग पैदा गरेका थिए।
सोही सन्दर्भमा रा.स्व.पाले संसदमा करिब दुई महिना निरन्तर आवाज उठाउँदै सदन अवरोधसमेत गरेको थियो। यही पृष्ठभूमिका कारण पन्थीलाई पार्टीभित्र दृढ, स्पष्ट र जोखिम मोल्न सक्ने नेताका रूपमा हेरिएको छ।
२०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा रा.स्व.पाबाट गुल्मी क्षेत्र नं. २ मा उम्मेदवार बनेका गोविन्द पन्थीले एमाले उपाध्यक्ष गोकर्ण विष्टजस्ता स्थापित र चर्चित उम्मेदवारलाई पराजित गर्दै सबैलाई आश्चर्यचकित बनाएका थिए। उक्त क्षेत्रमा २०७९ को निर्वाचनमा सातदलीय गठबन्धनसमेत सफल हुन नसकेको सन्दर्भमा उनको जितलाई ऐतिहासिक मानिएको थियो।
यी घटनाक्रमबीच हाल रा.स्व.पाले १८२ सिट जित्दै करिब दुईतिहाइ जनमतसहित सरकार गठन गरेको छ, जसको नेतृत्व बालेन्द्र शाहले गरिरहेका छन्। सरकारका कामकारबाहीलाई लिएर विपक्षी दलहरूले घेराबन्दी गरिरहेको सन्दर्भमा हुन लागेको यो अधिवेशनले सक्षम र दूरदर्शी नेतृत्व चयन गर्नु अपरिहार्य देखिन्छ।
यही सन्दर्भमा गोविन्द पन्थीले रा.स्व.पाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएपछि पार्टीभित्र उनको चर्चा थप चुलिएको छ। पार्टीका प्रतिनिधि तथा कार्यकर्ताहरू सामाजिक सञ्जालमार्फत सक्रिय र सचेत रहेकाले पन्थी अत्यधिक मतसहित विजयी हुने अपेक्षा गरिएको छ। राजनीतिक वृत्तमा उनको उम्मेदवारीलाई रा.स्व.पाको भावी नेतृत्व निर्माणको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।



