
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ स्थित थुकैला गाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले ६३ ग्राम ५३० मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले विशेष निगरानीका क्रममा थुकैला गाउँबाट गडियनपुरवा तर्फ आउँदै गरेको UP 40 Q 8921 नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।

जाँचका क्रममा भारतको उत्तर प्रदेश राज्य, बहराइच जिल्ला रुपैडिहा नईबस्ती निवासी ४० वर्षीय मोहम्मद रिजवान को अण्डरवेयरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ६३ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषधसहित रिजवानलाई नियन्त्रणमा लिई प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका भारतीय नागरिक, बरामद लागूऔषध तथा मोटरसाइकललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।



