धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाबाट २० ग्रामभन्दा बढी हेरोइनसहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महरा नेतृत्वमा लागूऔषध नियन्त्रण अभियान अन्तर्गत गरिएको यो पहिलो ठूलो अपरेशन मानिएको छ।

प्रहरीका अनुसार धर्मानन्द भट्टले आफू बस्दै आएको कोठाबाट लागूऔषध (हेरोइन) बिक्री–वितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले शुक्रबार बिहान करिब ११:३० बजे छापा मारेको थियो।

छापामार कारबाहीका क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ४३ वर्षीय धर्मानन्द भट्ट, उनकी १७ वर्षीया छोरी अस्मिता भट्ट तथा गोदावरी नगरपालिका–२ का ४४ वर्षीय गोपाल तिमिल्सेनालाई लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

कोठामा गरिएको तलासीका क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा शुद्ध तौल गर्दा २० ग्राम २४० मिलिग्राम हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद भएको थियो।

बरामद लागूऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

डीएसपी हिरा सिंह महरा इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखको जिम्मेवारी सम्हालेपछि लागूऔषध दुर्व्यसन तथा कारोबार नियन्त्रणका क्षेत्रमा गरिएको यो पहिलो ठूलो अपरेशन भएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीको सक्रियतासँगै अत्तरिया क्षेत्रमा लागूऔषध कारोबारविरुद्धको अभियान थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय