
भैरहवा ।रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश सिद्धार्थनगर बस्ने २८ वर्षीय अब्दुल हमिद र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने २२ वर्षीय अनिल पासी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट नक्कली नेपाली ५०० दरका ३० थान नोट बरामद गरेको जनाएको छ। साथै नेपाली १००, ५०० र १००० दरका प्रिन्ट भई काट्न बाँकी अवस्थामा रहेका ७ थान नोट, नक्कली नोट छाप्न प्रयोग गरिएको १ थान CPU, १ थान प्रिन्टर, १ थान मोनिटर, ४ रिम प्रिन्ट पेपर, २ थान मोबाइल र १ थान कैंची समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।




