
मुस्ताङ, ३ जेठ । कोरला नाका हुँदै नेपाल भित्र्याइँदै गरिएको ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ । मुस्ताङ भन्सार कार्यालय ले शनिबार साँझ ५९२ कार्टुन भेप नियन्त्रणमा लिएको हो ।
भन्सार कार्यालयका अनुसार लोमान्थाङ–१ छोसेर न्हेचुङ क्षेत्रमा ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका दुई वटा मालवाहक कन्टेनरलाई खानतलासी गर्दा उक्त परिमाणको भेप फेला परेको हो । ती कन्टेनरमार्फत भन्सार छलेर लुकाईछिपाई सामान ल्याइँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

शनिबार सार्वजनिक बिदा तथा लोमान्थाङमा जारी तिजी पर्व हेर्न अधिकांश कर्मचारी गएको मौका छोपी तस्करहरूले कन्टेनर भन्सार छलाएर लैजान खोजेका थिए । तर, अवैध सामान भित्रिएको गोप्य सूचनाका आधारमा भन्सार कार्यालय र सुरक्षा निकायको संयुक्त टोलीले कन्टेनरलाई बाटोमै नियन्त्रणमा लिएको थियो ।
भन्सार कार्यालयका अनुसार एउटा कार्टुनमा २२० वटा भेप रहेका छन् । यस आधारमा दुई वटा कन्टेनरबाट करिब एक लाख २० हजार थानभन्दा बढी विद्युतीय चुरोट बरामद भएको प्रारम्भिक अनुमान गरिएको छ । हाल स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायको रोहवरमा बरामद सामानको मुचुल्का उठाउने कार्य भइरहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा कन्टेनर चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङ का सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको छ ।
स्रोतका अनुसार तस्करीमा संलग्न गिरोहले प्रहरी र सशस्त्र प्रहरीलाई झुक्याउन नक्कली कागजातसमेत तयार पारेको पाइएको छ ।
कोरला नाका भेप तस्करीको ‘ट्रान्जिट’ बन्दै
पछिल्लो समय कोरला नाकाबाट विद्युतीय चुरोटको तस्करी बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको पुस ९ गते पनि सोही नाकाबाट दुई करोड २४ लाख रुपैयाँ बराबरको १६ हजार थान भेप बरामद गरिएको थियो । त्यस्तै गत वर्ष पनि छ करोड ८१ लाख रुपैयाँ बराबरको भेप भन्सार र सुरक्षा टोलीले नियन्त्रणमा लिएको थियो ।
बार




