काठमाडौँ । आकर्षक तलबसहित विदेश पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ–११ बस्ने २२ वर्षीय सन्दीप थापा मगर, महानगरपालिका–३ का ४३ वर्षीय निरबहादुर कार्की, महानगरपालिका–९ बस्ने ३९ वर्षीय विजयकुमार यादव, चन्द्रागिरी–५ का ३७ वर्षीय चिरञ्जीवी अधिकारी र बुढानीलकण्ठ–११ कै ३० वर्षीय प्रवेश गुरुङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट ठूलो रकम असुलेका थिए। सन्दीपले माल्टा पठाइदिने बहानामा एक जनाबाट १२ लाख रुपैयाँ, निरबहादुरले क्रोएसिया पठाउने भन्दै ८ जनाबाट २ लाख २५ हजार रुपैयाँ, विजयकुमारले कतार पठाउने भन्दै २ लाख २० हजार रुपैयाँ, चिरञ्जीवीले क्यानडा पठाउने नाममा ३ जनाबाट ३० लाख रुपैयाँ तथा प्रवेशले मकाउ पठाउने भन्दै ५ लाख ५० हजार रुपैयाँ उठाएका थिए। रकम लिइसकेपछि उनीहरू सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरी अनुसन्धान अघि बढाइएको थियो।

सोही क्रममा सन्दीप र विजयकुमारलाई काठमाडौँ–१२, निरबहादुरलाई काठमाडौँ–१३, चिरञ्जीवीलाई काठमाडौँ–११ र प्रवेशलाई काठमाडौँ–१२ बाट क्रमशः सोमबार र मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय