
काठमाडौं । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले कोकिन र औषधिजन्य लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ।
प्रहरीले गोरखाको पालुङटार नगरपालिका–९ का २७ वर्षीय सुनिल लामा, झापाको मेचीनगर नगरपालिका–९ का ३१ वर्षीय विवेक गौतम, भारतीय नागरिक २७ वर्षीय हर्षित डाँगी र ३९ वर्षीय मानिक गुलाटीलाई पक्राउ गरेको हो। उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो।

ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार उनीहरूको साथबाट ३३ ग्राम कोकिन बरामद गरिएको छ।
यसैगरी, प्रहरीले औषधिजन्य लागुऔषधसहित थप ४ जनालाई पनि पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा नुवाकोटका २८ वर्षीय अनिल तामाङ, काभ्रेका २२ वर्षीय प्रदीप थापा मगर, नुवाकोटकै २३ वर्षीय सरोज राई र मनाङका २६ वर्षीय सुमन गुरुङ रहेका छन्।
उनीहरूको साथबाट ट्रामाडोल १२ हजार ६ सय पिस बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।



