काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१, सुन्दरीजल क्षेत्रमा ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ स्थायी घर भई हाल सुन्दरीजल बस्दै आएका २७ वर्षीय सुजित कुमार सहनी रहेका छन्।

ट्राफिक प्रहरीका अनुसार बागमती प्रदेश ०२–०२२ प २५६७ नम्बर रहेको मोटरसाइकल नम्बर प्लेट बिना चलाइरहेको अवस्थामा सुन्दरीजल सडकखण्डमा फेला परेको थियो। शंका लागेपछि जाँच गर्दा उक्त मोटरसाइकल चोरीको भएको खुल्न आएको हो।

उक्त मोटरसाइकल काठमाडौँको जोरपाटी क्षेत्रबाट हराएको भन्दै काठमाडौँ महानगरपालिका–६ बस्ने राजु लामाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए।

नियन्त्रणमा लिइएका सहनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय