महोत्तरी। महोत्तरीको बर्दिबासमा प्रहरीले स्कोरपियो गाडीबाट ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

हिजो राति विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले बि.पी. राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट अगाडि चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा बर्दिबासबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–०२–०१–००१ च ०४४१ नम्बरको स्कोरपियो गाडी रोकी जाँच गर्दा चालकसँगै सवार नुवाकोट सूर्यगढी गाउँपालिका–४ का ३१ वर्षीय अविरल परियारको साथबाट कालो प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको ७१.०४ ग्राम ब्राउन सुगर (प्लास्टिकसहित ७५ ग्राम) बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न सिराहा मिर्चौया नगरपालिका–८ का २१ वर्षीय चालक मुरली कुमार राय, मिर्चौया–१ का २४ वर्षीय रमन घिमिरे र मिर्चौया–७ का १९ वर्षीय सुनिल पटेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका चारै जना र बरामद गाडीलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर