
धनगढी । दार्चुलामा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार घटनामा संलग्नमध्ये ४१ वर्षीय राजेन्द्र डडाललाई मंगलबार राति नियन्त्रणमा लिइएको हो।
यसअघि नै ४० वर्षीया मनमती आउजी, २६ वर्षीया दीपिका फर्सवान र एक नाबालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिएका छन्।

हत्या गरिएका हवल्दार घर्ती सामुदायिक प्रहरी बंगाबगरमा कार्यरत थिए। उनी मंगलबार बिहान तल्लो बंगाबगर बजारस्थित एक होटलको पछाडि मृत अवस्थामा फेला परेका थिए। महाकाली नगरपालिका–४ निवासी घर्तीको टाउकोमा गम्भीर चोट देखिएको थियो।
प्रहरीका अनुसार घर्तीमाथि धारिलो हतियार प्रहार गर्नुका साथै कुटपिटसमेत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



