
काठमाडौं । नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डसँग जोडिएको सनम शाक्य हत्या प्रकरणका एक जना आरोपीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ निवासी ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

मोरङको उर्लाबारी निवासी सनम शाक्यलाई विसं २०७४ फागुन १८ गते कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो। उक्त घटनामा सुन कारोबारमा संलग्न मुख्य अभियुक्त चुरामणि उप्रेती (गोरे) यसअघि नै पक्राउ परिसकेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका गौतमलाई आवश्यक अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ।



