
नेपालको वर्तमान राजनीतिक घटनाक्रमले आमनागरिकमा आशा, अन्योल र चिन्ता एकैसाथ पैदा गरेको छ। केही समयअघि सरकारका सकारात्मक कामको चौतर्फी प्रशंसा भइरहेका बेला अहिले सडकदेखि सामाजिक सञ्जालसम्म सरकारविरुद्ध असन्तुष्टिका स्वर सुनिन थालेका छन्। यसले कतै सरकारप्रतिको जनविश्वास कमजोर हुँदै गएको त होइन भन्ने प्रश्न उठाएको छ।
सरकार गठन हुँदा जनताले सुशासन, सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण र नागरिकमैत्री शासनको अपेक्षा गरेका थिए। यही अपेक्षाका कारण सरकारप्रति ठूलो भरोसा पनि थियो। तर पछिल्ला घटनाक्रमले सरकारका समर्थक र पार्टी पंक्तिका युवामाझ समेत विभिन्न शंका–उपशंका जन्मिएका छन्।

हालै भएको गणेश नेपालीको आत्मदाहको घटनाले देशलाई स्तब्ध बनायो। त्यसको घाउ अझै नमेटिँदै अन्य स्थानमा पनि आत्मदाहको प्रयास हुनु समाजमा बढ्दो निराशाको संकेतका रूपमा लिन सकिन्छ। यस्ता घटनालाई सामान्य रूपमा लिन मिल्दैन। सरकारले नागरिकका गुनासा समयमै सम्बोधन गर्न नसके यस्ता घटनाले थप सामाजिक असन्तुष्टि निम्त्याउन सक्छन्।
त्यस्तै, कीर्तिपुर होल्डिङ सेन्टर र सुकुम्बासी व्यवस्थापनका क्रममा देखिएका विवादले पनि संवेदनशील विषयलाई अझ जिम्मेवारीपूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता देखाएको छ। अव्यवस्थित बसोबास अन्त्य गर्नु राज्यको दायित्व हो, तर वास्तविक भूमिहीन र सुकुम्बासीको सम्मानजनक पुनःस्थापना सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ। विकास र व्यवस्थापनका नाममा मानवीय पक्ष ओझेलमा पर्नु हुँदैन।
यद्यपि सरकारले केही क्षेत्रमा उल्लेखनीय सुधार गरेको तथ्यलाई पनि नकार्न सकिँदैन। राहदानी वितरण, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), राष्ट्रिय परिचयपत्र, नागरिकतालगायत नागरिकसँग प्रत्यक्ष जोडिएका सेवामा विगतको तुलनामा उल्लेखनीय सुधार भएको छ। सीमित स्रोतसाधन र उही कर्मचारी संयन्त्रबाट सेवा प्रवाहमा आएको सुधार सरकारको सकारात्मक उपलब्धिका रूपमा लिन सकिन्छ।
तर केवल उपलब्धिको सूचीले मात्र जनविश्वास कायम रहँदैन। नागरिकले आफ्नो दैनिक जीवनमा परिवर्तनको अनुभूति गर्न चाहन्छन्। सुशासन, न्याय, संवेदनशीलता र प्रभावकारी कार्यसम्पादनमार्फत सरकारले जनअपेक्षालाई सम्बोधन गर्न सके मात्र आशा र भरोसाको दियो बलिरहनेछ।
आज आवश्यक कुरा सरकारको आलोचना वा प्रशंसा मात्र होइन, जनताको विश्वास जोगाउने कार्य हो। किनभने जनविश्वास गुमाउन सजिलो हुन्छ, तर पुनः प्राप्त गर्न निकै कठिन। त्यसैले सरकारले सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गर्न सके मात्र जनताले बालेको आशा र भरोसाको दियो निभ्ने होइन, अझ उज्यालो बन्नेछ।
विशाल भण्डारी
(पूर्व प्रहरी सहायक हवल्दार)



