
काठमाडौँ । नेपाल प्रहरीका काबिल प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीले नेतृत्व गरेको जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्यांकनका आधारमा देशभरिमै ‘सर्वोत्कृष्ट कार्यसम्पादन’तर्फ प्रथम भएको छ। काठमाडौँ र ललितपुरजस्ता जिल्लालाई पछि पार्दै बाँके जिल्ला चैत्र महिनामा उत्कृष्टता हासिल गर्न सफल भएको हो।
अपराध नियन्त्रण, निर्वाचन सुरक्षा व्यवस्थापन तथा न्याय सम्पादनमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला बॅाकेलाई उक्त सम्मान प्रदान गरेको हो।

प्रहरी संगठनका विभागीय नीति–निर्देशन र आन्तरिक अनुशासनलाई पूर्ण रूपमा आत्मसात गर्दै एसपी जिसीले व्यावसायिकता, इमानदारी, लगनशीलता र कर्तव्यनिष्ठाको उच्च नमूना प्रस्तुत गर्नुभएको मूल्यांकन गरिएको छ। जिम्मेवारी निर्वाहमा उहाँको स्पष्ट दृष्टिकोण, द्रुत निर्णय क्षमता तथा परिणाममुखी कार्यशैलीले संगठनभित्र सकारात्मक सन्देश प्रवाह गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेको नेतृत्व सम्हालेपछि उहाँले जिल्लाको शान्ति–सुरक्षा सुदृढ पार्दै अपराध नियन्त्रणमा प्रभावकारी रणनीति अपनाउनुभएको थियो। विशेषगरी संगठित अपराध, लागुऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा अनुसन्धान प्रक्रियालाई गति दिन उहाँको नेतृत्वमा उल्लेखनीय उपलब्धि हासिल भएको बताइएको छ। स्थानीय तह, प्रशासन र समुदायसँग समन्वय गर्दै सुरक्षालाई व्यवहारिक र परिणाममुखी बनाउने उहाँको कार्यशैली प्रशंसनीय मानिएको छ।
नागरिकमैत्री प्रहरी सेवाको अवधारणालाई व्यवहारमा उतार्दै एसपी जिसीले सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत जोड दिनुभएको छ। प्रहरी–नागरिक सम्बन्ध सुदृढ बनाउन विभिन्न जनचेतनामूलक कार्यक्रम, समुदाय–प्रहरी साझेदारी तथा पीडितमैत्री सेवा प्रवाहमा उहाँको विशेष ध्यान देखिन्छ।
उक्त प्राप्तिपछि प्रतिक्रिया दिँदै एसपी जिसीले यो सम्मान व्यक्तिगत नभई सम्पूर्ण टोलीको मेहनत र समर्पणको परिणाम भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो सम्मानले मलाई अझ जिम्मेवार बनाएको छ। आगामी दिनमा नागरिकलाई सुरक्षित वातावरणको अनुभूति दिलाउने, प्रहरी सेवामा विश्वास अभिवृद्धि गर्ने र पीडितलाई न्याय तथा पीडकलाई सजाय सुनिश्चित गर्ने दिशामा अझ दृढतापूर्वक लागिरहनेछु।”
एसपी जिसीको यस उपलब्धिले प्रहरी संगठनभित्र सकारात्मक प्रतिस्पर्धा, पारदर्शिता र उत्तरदायित्वको संस्कारलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। उहाँको कार्यशैलीले नेपाल प्रहरीभित्र दक्ष, इमानदार र परिणाममुखी नेतृत्वको उदाहरण प्रस्तुत गरेको छ।



