नेपाल बहुदलीय र बहुलवादमा आधारित लोकतान्त्रिक मुलुक हो। त्यसैले संविधान र त्यसमा निहित मूलभूत सिद्धान्तहरूको परिधिभन्दा बाहिर जाने छुट कसैलाई छैन। संविधानको फ्रेमभित्र रहेर हरेक दलले आफूलाई राज्य सञ्चालनको हकदार बनाउने प्रयास गरिरहेको हुन्छ।

भाद्र २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनका कारण तत्कालीन दुई तिहाइ सरकारको अप्रत्याशित बहिर्गमन भयो। त्यसपछि फागुन २१ गते सम्पन्न निर्वाचनले मुलुकलाई नयाँ गति दिने अपेक्षासहित करिब दुई तिहाइ मतद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सत्ताको बागडोर सुम्पिएको छ। वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा रास्वपाले शासन सम्हालेसँगै मुलुकका बेथिति क्रमशः अन्त्यतर्फ उन्मुख हुने विश्वास र अपेक्षा आम नागरिकमा देखिएको छ। सरकार बनेपछिका प्रारम्भिक गतिविधिहरूले पनि त्यसको संकेत दिएका छन्।

परिवर्तित सन्दर्भमा नयाँ राजनीतिक दलहरूको उदयलाई निरन्तर प्रक्रिया र आवश्यकता दुवैका रूपमा बुझ्नुपर्छ। सामाजिक परिवर्तन, राजनीतिक असन्तोष, आर्थिक विषमता, अस्थिरता र नेतृत्वप्रतिको निराशाले नयाँ दलप्रति आकर्षण बढाउँछ। यसलाई बाह्य चलखेलको रूपमा व्याख्या गर्नु उचित होइन; बरु यो नागरिकले व्यक्त गरेको परिवर्तनको स्पष्ट सन्देश हो।

हरेक देशमा जनता पहिलो प्राथमिकतामा पर्नुपर्छ। जब जनताको अवमूल्यन हुन्छ, नागरिक आफैं परिवर्तनकारी शक्तिका रूपमा उभिन्छन्। नेपालमा अहिले भएको पनि यही हो। विगतका सत्ताले नागरिकलाई प्राथमिकता नदिएको परिणामस्वरूप जनताले पुराना दललाई कडा सन्देश दिएका छन्। यसपटकको निर्वाचनले जनताको असन्तुष्टि कति गहिरो थियो भन्ने कुरा स्पष्ट पारेको छ।

शासन सञ्चालन गर्ने जो कोहीले पनि सत्ताको लगाम कति खुकुलो राख्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ, किनकि त्यसले नै नागरिकको विश्वास बढाउँछ। नागरिकमाथि अत्यधिक नियन्त्रण लाद्दा के परिणाम आउँछ भन्ने उदाहरणका रूपमा एशियाली मुलुक इरान को अवस्था हेर्न सकिन्छ।

पुराना दलहरूले समाधान गर्न नसकेको समस्यामा आशाको विकल्पका रूपमा रास्वपा उदाएको छ। अब यसले वैकल्पिक सोच, स्पष्ट नीति र व्यवहारिक कार्यक्रममार्फत समाधान दिनुपर्छ। समाजमा बढ्दो राजनीतिक थकान र असन्तुष्टिलाई सम्बोधन गर्ने अवसर रास्वपासँग छ।

परम्परागत राजनीतिक संस्कृति—जस्तै भागबण्डा, गुटबन्दी र आर्थिक अपारदर्शिताबाट निराश नागरिकलाई नयाँ विकल्प दिनु यसको प्रमुख दायित्व हो। जनताको दीर्घकालीन र तत्कालीन आवश्यकताको गहिरो अध्ययन गरी योजनाबद्ध कार्यान्वयन गर्नु अत्यावश्यक छ।

नेपालमा युवाहरूको संख्या ठूलो भए पनि निर्णय प्रक्रियामा उनीहरूको सहभागिता विगतमा सीमित थियो। अब युवा नेतृत्व, प्रविधिमैत्री अभियान, पारदर्शिता र उत्तरदायित्वमा आधारित नयाँ राजनीतिक संस्कृतिको सुरुवात भइसकेको छ। लोभ, लालच र आफन्तवादबाट मुक्त हुन सके मात्र यो अभियान सफल हुन्छ।

रास्वपाप्रति जनताको आकर्षण सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको कडा नीतिमा आधारित छ। बजेट, निर्णय र पार्टी वित्तको डिजिटल प्रकटीकरण, युवामैत्री उम्मेदवार चयन, तथा स्थानीयदेखि संघीय तहसम्म प्रभावकारी कार्यान्वयनले नागरिकको विश्वास बलियो बनाउन सक्छ।

सरकार सञ्चालन गर्दा रास्वपाले शिक्षा, स्वास्थ्य, यातायात, नागरिक सेवा र वातावरण संरक्षण जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकता दिनुपर्छ। जनसुनुवाइ र प्रत्यक्ष सम्पर्कमा आधारित राजनीति मार्फत नागरिक–राज्य सम्बन्ध थप सुदृढ बनाउन सकिन्छ।

फागुन २१ को मतपरिणामले पुराना दलहरू कमजोर बनेको संकेत दिएको छ। दलीय आचरणमा लागेको दाग सजिलै मेटिने होइन। त्यसैले यो अवस्थालाई रास्वपाले अवसरका रूपमा उपयोग गर्नुपर्छ।

नेपालमा अब केही समय गठबन्धन राजनीतिले विश्राम पाएको छ। यस्तो अवस्थामा सुशासनको अपेक्षा पूरा गर्ने जिम्मेवारी रास्वपामाथि आएको छ। जनविश्वासलाई कुनै हालतमा कमजोर हुन दिनु हुँदैन।

नेपालको जातीय, भाषिक र भौगोलिक विविधता अझै पूर्ण रूपमा प्रतिनिधित्वमा नआएको अनुभूति भइरहे पनि रास्वपाबाट निर्वाचित प्रतिनिधिहरूमा समावेशी उपस्थिति देखिन्छ। महिला, दलित, जनजाति, मधेशी र पिछडिएका वर्गको सहभागिता सकारात्मक संकेत हो।

आधुनिक शासनका अवधारणा—डिजिटल सरकार, खुला डेटा, परिणाममुखी नीति र वैज्ञानिक स्रोत व्यवस्थापन—लाई अघि बढाउनु आवश्यक छ। यसले नेपाललाई दीर्घकालीन रूपमा दिगो र समृद्ध मार्गतर्फ उन्मुख गराउन सक्छ।

अन्ततः, रास्वपाको उदय केवल विकल्प होइन, भरोसाको संकेत हो। नयाँ सोच, पारदर्शिता, सुशासन र युवा सहभागितालाई संस्थागत बनाउने अवसर जनताले दिएको छ। तर संस्थागत क्षमता, नीति निरन्तरता र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता जस्ता चुनौतीहरूलाई सम्हाल्दै अघि बढ्नुपर्नेछ।

नेपालमा नेता बन्ने चाहना धेरैमा देखिन्छ, तर परिपक्व र जिम्मेवार नेतृत्वले मात्र मुलुकलाई सही दिशा दिन सक्छ। स्पष्ट दृष्टिकोण, अनुशासित कार्यशैली र नागरिकप्रति उत्तरदायित्व नै सफल राजनीतिक यात्राको आधार हो।

लेखक : भोजराज पाण्डे सभापति, रास्वपा गुल्मी हुनहुन्छ ! 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय