
काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा हासिल गरेको अप्रत्याशित सफलताले धेरै नेपाली युवामा आशाको नयाँ झिल्को जगाएको छ। त्यही आशालाई आफ्नै जीवनको पीडा र संघर्षसँग जोडेर व्याख्या गरेका छन् जेनजी आन्दोलनका घाइते युवा सञ्जीव सापकोटाले।
गत भदौ २४ गतेको त्यो घटनाले सञ्जीवको जीवन सधैंका लागि बदलिदियो। परिवर्तनको आवाज बनेर सडकमा उत्रिएका उनी आज आफ्नो एउटा हात गुमाएर पनि देशको भविष्यप्रति आशावादी देखिन्छन्। रास्वपाको विजयपछि उनले व्यक्त गरेको भावना धेरैका लागि मन छोइदिने बनेको छ।

भदौ २४ को त्यो दर्दनाक दिन
भदौ २३ गते कुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सडकमा उत्रिएका २१ जना युवा प्रहरीको गोली प्रहारमा परेर ज्यान गुमाएपछि देशभर आक्रोश फैलिएको थियो। त्यसको भोलिपल्ट जनआन्दोलनको लहर अझै तीव्र बन्यो।
त्यही बेला कार्यसिलशिलामा झापा पुगेका काभ्रे, पनौतीका सञ्जीव सापकोटा पनि आन्दोलनको वातावरणका कारण बिर्तामोडमै रोकिए। उनी आन्दोलनकारीहरूलाई पानी वितरण गर्दै मानवीय सहयोग गरिरहेका थिए।
तर अचानक परिस्थिति बदलियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा आगजनी भयो। केहीबेरमै त्यहाँ राखिएको ग्यास सिलिन्डर विष्फोट भयो। त्यो विस्फोटले सबथोक बदलिदियो।
विष्फोटमा उछिट्टिएको सिलिन्डरको टुक्राले सञ्जीवको पाखुरामा गहिरो चोट लाग्यो। रक्तनली गम्भीर रूपमा क्षतिग्रस्त भयो। संक्रमण बढ्दै जाँदा चिकित्सकहरू अन्ततः एउटा कठिन निर्णयमा पुगे—उनको ज्यान जोगाउन हात काट्नै पर्ने।
झापाको बीएण्डसी अस्पताल र काठमाडौँको ट्रमा सेन्टरमा गरी उनले ५९ दिन अस्पतालको बेडमा जीवन र मृत्युबीचको संघर्ष लडे। त्यो विस्फोटमा एक जनाको ज्यान गयो भने सञ्जीवसहित तीन जनाले आफ्ना अङ्ग गुमाए।
“आज मेरो काटिएको हातले न्याय पाएको दिन”
देशका लागि आफ्नो शरीरको एउटा अङ्ग गुमाएका सञ्जीवले चुनावी नतिजा सार्वजनिक भएपछि रास्वपा सभापति रवि लामिछानेसँग खिचिएको तस्बिर सामाजिक सञ्जालमा साझा गरे।
त्यससँगै उनले लेखे—
“आज मेरो काटिएको हात अनि देशले न्याय पाएको दिन।”
यो छोटो तर गहिरो अभिव्यक्तिले धेरैको मन छोयो।
सञ्जीवको शब्दहरू केवल व्यक्तिगत पीडाको बयान मात्र होइनन्, ती परिवर्तनका लागि रगत र पसिना बगाएका युवाहरूको सामूहिक आवाज पनि हुन्।
आशा र प्रश्न दुबै
आफ्नो एउटा हात गुमाए पनि सञ्जीव आज पनि निराश छैनन्। बरु उनी देशको राजनीतिमा आएको परिवर्तनलाई आशाको आँखाले हेरिरहेका छन्।
तर उनको पीडाले एउटा ठूलो प्रश्न पनि उठाउँछ—
परिवर्तनको नाममा घाइते भएका, अङ्ग गुमाएका र न्यायको प्रतीक्षामा रहेका युवाहरूलाई राज्यले कहिले सम्बोधन गर्ने?
रास्वपाको उदयले सञ्जीवजस्ता घाइते र पीडित युवामा नयाँ आशा जगाएको छ। तर त्यो आशा विश्वासमा रूपान्तरण हुन्छ कि हुँदैन, त्यो भने अब आउने दिन र नयाँ नेतृत्वको कामले नै प्रमाणित गर्नेछ।



