
काठमाडौं, ९ माघ । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा पत्रकारितामार्फत सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गरेका कार्य–कारबाहीलाई आम नागरिकसम्म प्रभावकारी रूपमा सम्प्रेषण गरी संगठनको छवि अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार छायाचन्द्र भण्डारीलाई IG APF Commendation प्रदान गरिएको छ।
पत्रकार भण्डारीले सशस्त्र प्रहरी बल, नेपालका गतिविधि, उपलब्धि तथा जनहितसँग सम्बन्धित कार्यक्रमहरूलाई तथ्यपरक, जिम्मेवार र सकारात्मक ढंगले प्रस्तुत गर्दै आम जनमानसमा संगठनप्रति विश्वास र सकारात्मक धारणा निर्माण गर्न योगदान पुर्याएको मूल्याङ्कनसहित उक्त सम्मान प्रदान गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित प्रभातकालीन विशेष समारोहका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पत्रकार भण्डारीलाई उक्त प्रशंसापत्र प्रदान गर्नुभएको हो।
यस सम्मानले पत्रकारिता र सुरक्षा निकायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै पारदर्शिता, सूचना प्रवाह र जनविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।



