
राधाकृष्ण देउजा । जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा मिति २०८२।०९।१३ गते सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रमको समुद्घाटन सम्पन्न भएको छ।
देशमा अराजकता, अन्योल र नकारात्मकता बढिरहेको वर्तमान परिस्थितिमा प्रहरी र समाजबीच आपसी विश्वास अभिवृद्धि गर्दै सहकार्यलाई मजबुत बनाउनु राष्ट्रिय आवश्यकता बनेको छ। यही सन्दर्भमा सुरु गरिएको ‘हाम्रो प्रहरी’ कार्यक्रम प्रहरी–समाज सम्बन्ध सुदृढ गर्ने दिशामा महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।

देशमा व्याप्त भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै नव पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा भएका घुसपैठ, हिंसात्मक गतिविधि, प्रहरीमाथि भएका आक्रमण, प्रहरी भवनमा आगजनी तथा राष्ट्रसेवक प्रहरीप्रति गरिएको अपमानजनक व्यवहारले प्रहरीको मनोबल कमजोर बनेको अवस्था थियो। त्यही कठिन समयमा तत्कालीन महानगरीय प्रहरी नेतृत्व (हालका प्रहरी महानिरीक्षक) तथा काठमाडौं जिल्ला प्रहरीले समाजसँग सहकार्य र संवादको नयाँ अभ्यास सुरु गर्दै सकारात्मक सन्देश प्रवाह गरेको थियो।
नेपाल प्रहरी शासक होइन, सेवक हो भन्ने व्यवहारिक सन्देश स्थापित गर्दै अघि बढेको उक्त पहलले प्रहरी संरचनाको पुनर्निर्माण र मनोबल वृद्धिमा उल्लेखनीय योगदान दिएको विश्लेषकहरूको भनाइ छ। समाज र प्रहरीलाई व्यवहारमा एकाकार गराउँदै जनताको विश्वास, माया र आशिर्वाद प्राप्त गर्ने क्रममै काठमाडौं जिल्ला प्रहरी कार्यालयले प्रहरी महानिरीक्षक, महानगरपालिकाका नेतृत्व तथा समाजका सम्मानित र स्थापित व्यक्तित्वहरूको उपस्थितिमा ‘हाम्रो प्रहरी’ कार्यक्रम सुरु गरेको हो।
समय सान्दर्भिक र आवश्यक मानिएको यस कार्यक्रमले सरल, स्वच्छ र नम्र प्रहरीको अवधारणालाई मजबुत बनाउँदै समाजसँग मिलेर अराजकता, अपराध र अनैतिक गतिविधिविरुद्ध प्रभावकारी रूपमा काम गर्न सक्ने विश्वास लिइएको छ।
कार्यक्रमको सफलताको कामना गर्दै लेखक राधाकृष्ण देउजा, जो समसामयिक विषयका विश्लेषक हुनुहुन्छ, उहॅाले ‘हाम्रो प्रहरी’ कार्यक्रमलाई प्रहरी–समाज सम्बन्ध सुधारको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्नुभएको छ।



