
—राधाकृष्ण देउजा
भइरहेको आइजीपीको कार्यकाल सकिन केही घण्टा वा मिनेट बाँकी रहँदा मात्रै नयाँ आइजीपी नियुक्त गर्ने परम्परालाई तोड्दै सरकारले यसपटक करिब एक हप्ता अगावै नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेको छ । शान्ति–सुरक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको प्रहरी संगठनमा हुने दायित्व हस्तान्तरणलाई सहज बनाउन यो कदम महत्वपूर्ण र सकारात्मक छ । यसका लागि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखप्रति धन्यवाद व्यक्त गर्नै पर्छ ।

भइरहेका आइजीपी दीपक थापा र हुँदै गरेका आइजीपी चन्द्रकुवेर खापुङ मात्र नभई सिङ्गो प्रहरी संगठनको गरिमाको लागि पनि अब नयाँ परम्परा बसाल्ने समय आएको छ । नयाँ आइजीपी नियुक्त भएको दिन, भैरहेका आइजीपीलाई साथमा राखी, भव्य समारोहबीच ‘दर्ज्यानी चिन्ह’ अर्थात् ‘फुली’ लगाइदिने प्रथाको सुरुवात गरिनुपर्छ ।
यदि प्रधानमन्त्रीले नभए गृहमन्त्रीले, त्यो पनि नभए विभागीय मन्त्रीले भैरहेका आइजीपीलाई सम्मानपूर्वक उक्त ‘फुली’ लगाइदिने संस्कार सुरु गर्ने हो भने यसले संगठनको गरिमामा थप वृद्धि गर्नेछ । गृहसचिवज्यूहरु प्रति उच्च सम्मानसहित भन्नै पर्छ—आइजीपीलाई ‘फुली’ विभागीय मन्त्रीकै उपस्थितिमा लगाइदिनु अझ सान्दर्भिक र अनुकरणीय हुने देखिन्छ ।