हाल नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) रहेका दिपक थापा संगठनको नेतृत्वमा आउँदा मात्र खुशी भएको होइन, म स्वयंले उहाँलाई डिएसपीबाट एसपी नबनाउँदा तत्कालीन संगठन प्रमुखदेखि निर्णयमा प्रभाव राख्नेहरू गलत भए भनेर सार्वजनिक रूपमा लेखिसकेको व्यक्ति हुँ।

समग्रतामा, प्रहरी नेतृत्वको छिटोछिटो वहिर्गमनलाई सहज बनाउने कथित ३० वर्षे सेवा अवधि गलत हो भन्ने निष्कर्षमा म धेरै अघि नै पुगेको थिएँ। यदि प्रहरी ऐन बनेपछि तत्कालै प्रहरी समायोजन ऐनमार्फत नेपाल प्रहरी खण्डित भई प्रदेश प्रहरी बन्ने अवस्था नआएको भए, म पनि प्रहरी ऐनमार्फत ३० वर्षे सेवा अवधि खारेज गर्दै दिपक थापा जस्ता संयोजनकारी क्षमताका काबिल आईजीपीले पूर्ण कार्यकाल नेतृत्व गर्न पाउनुपर्छ भन्ने पक्षमै उभिने थिएँ। त्यो बेला म मात्रै होइन, संगठन बलियो होस् भन्ने चाहना राख्ने हरेक व्यक्तिको त्यही मत हुने थियो।

तर अहिले परिस्थिति भिन्न छ। प्रहरी ऐन निर्माण हुनु भनेको प्रहरी विखण्डनको षड्यन्त्रलाई सफल बनाउने प्रक्रिया भएको मैले बुझेको छु। त्यसैले म यसका विपक्षमा उभिनु आवश्यक ठान्छु। साथै, प्रहरी नियमावली संशोधनमार्फत सेवा अवधि बढाउने सम्भावनामा सम्मानित सर्वोच्च अदालतले नै बन्देज लगाइसकेको अवस्थामा, केवल शुभेच्छा वा कसैको जोडले मात्र आईजीपी दिपक थापा वा अरू कसैको कार्यकाल थपिन सक्ने अवस्था छैन।

यद्यपि, कान्तिपुर जस्तो विश्वसनीय सञ्चार माध्यममा मातृका दाहालजस्ता पत्रकारले नै प्रहरी नियमावली संशोधनमार्फत प्रहरी प्रमुखसहितको सेवा अवधि थप्ने प्रयास भइरहेको समाचार लेखिसकेपछि कतै त्यस्ता पहल र प्रयत्न भैरहेका छन् भन्ने स्वीकार नगरी हुँदैन।

तर यति हुँदा हुँदै पनि, ऐन–कानुनलाई गहिरो रूपमा बुझ्ने, परिस्थिति सूक्ष्म रूपमा विश्लेषण गर्ने असाधारण क्षमता भएको दिपक थापा कुनै निहित स्वार्थको दास भएर संगठनलाई क्षति पुर्‍याउने बाटोमा लाग्न सक्नेछ भन्ने कुरामा भने म विश्वस्त छैन। बरु, उहाँले आफ्नो योग्यता, क्षमताले पाएको पदमा ऐन–नियम–कानुनले दिएको निश्चित समयसम्म, अझ उहाँकै शब्दमा भन्नुपर्दा पाँच महिना कुन्नि कति दिनसम्म, संगठनको नेतृत्व गरेर अन्ततः ससम्मान बिदाइ हुनेछन्। यसरी नै प्रहरी संगठनको विधि र प्रचलनलाई कायम राख्नेछन्।

मैले उहाँसँग व्यक्तिगत रूपमा यो विषयमा कुरा गरेको छैन। तर लामो समयदेखि चिनेको, बुझेको र अध्ययन गरेको आधारमा यति भन्न सक्छु—

आईजीपी दिपक थापा प्रहरी विगार्ने षड्यन्त्रको हिस्सा हुने छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय