सर्लाही — जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोनमार्फत धम्क्याएको आरोपमा जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। अध्यक्ष यादवले एसपी खड्कालाई फोन गरेर अपशब्द प्रयोग गर्दै “तराईमा लुट्न आएका लुटेरा” भन्दै धम्क्याएको अडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। प्रहरीले सो अडिओ प्रमाणको रूपमा संकलन गरेको जनाएको छ।

प्रहरीका अनुसार सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा रातिको समयमा दिइएको सुरक्षाका विषयमा यादवले आपत्ति जनाउँदै गालीगलौज गरेका थिए। सार्वजनिक अडिओमा यादवले एसपी खड्कालाई किन कार्यालयमा सुरक्षा दिएको भन्दै कडा अपशब्द प्रयोग गर्दै गुनासो गरेका छन्।

यसअघि पनि यादवले प्रदेश सरकारका एक मन्त्रीलाई यस्तै धम्कीपूर्ण सन्देश पठाएको खुलेको छ। ती सन्देशहरू पनि प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि प्रमाणको रूपमा संकलन गर्ने तयारी गरेको छ।

धम्कीको घटनापछि यादवलाई नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि स्थानीयले अवरोध सिर्जना गरेका थिए। सोमबार राति करिब ११ बजे प्रहरी यादवको घर पुगे पनि गाउँलेहरूको हुलले अवरोध गरेपछि टोली फर्कन बाध्य भएको थियो। सो क्रममा जिल्ला प्रहरी कार्यालयको डिएसपी सरोज राईको गाडीमा समेत तोडफोड भएको छ।

प्रहरीले यादवको खोजी तीव्र बनाएको छ भने घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको पनि निगरानीमा राखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय