
इटहरी, असार १२ गते। कोशी प्रदेशको १४ वटै जिल्लामा एकैसाथ सुरु गरिएको “ट्राफिक सप्ताह २०८२” को समापन तथा अन्तरक्रिया कार्यक्रम आज एक औपचारिक समारोहका साथ सम्पन्न भएको छ। कार्यक्रमको आयोजना नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरी र कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको संयुक्त पहलमा गरिएको हो।
समापन समारोहमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीको अध्यक्षता रहेको थियो भने माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रम नेपाल प्रहरी ट्राफिक कार्यालय, इटहरीको सभाहलमा सम्पन्न भएको थियो।

सात दिने ट्राफिक सप्ताहको प्रारम्भ असार ६ गते प्रभातफेरीबाट भएको थियो। अभियानअन्तर्गत सार्वजनिक सवारीमा हुने दुर्व्यवहार विरुद्ध सचेतना, यात्रुवाहक सवारीसाधनको अनुगमन, Don’t use mobile while driving सन्देशसहितको प्रचार, तीनपाङ्ग्रे (ई–रिक्सा, अटो) सवारीको मर्मत जाँच तथा चालक प्रशिक्षण, दुईपाङ्ग्रे सवारीको जाँच तथा सचेतना, लेन अनुशासनसम्बन्धी प्रशिक्षण, विद्यालय बस परीक्षण तथा अन्तरक्रिया लगायतका कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
यस अभियानबाट करिब ४९,७४२ जना चालक र सडक प्रयोगकर्तालाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण प्रदान गरिएको ट्राफिक कार्यालयले जनाएको छ।
कार्यक्रमकै अवसरमा विभिन्न मितिमा हराएका सवारी साधनहरू फेला पारेर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रहरी ट्राफिक कार्यालय, इटहरीमा दर्ता गरिएका उजुरीका आधारमा गरिएको खोजतलासमा केही सवारीहरू वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखी चलाइएको अवस्थामा सुनसरी, मोरङ, झापा लगायत विभिन्न स्थानबाट ८ वटा मोटरसाइकलहरू फेला पारिएको थियो।
तीमध्ये ३ वटा मोटरसाइकलहरू मन्त्री भण्डारीले सम्बन्धित सवारीधनीलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो। बाँकी सवारीसाधनहरू हाल कानुनी प्रक्रिया अन्तर्गत कारवाहीमा रहेका छन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यालय शिक्षक, प्रहरी अधिकृत र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



