
झापा ।पछिल्लो समय झापाका सीमावर्ती नाकाहरू हुँदै निजी सवारीसाधनको प्रयोग गरी प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको कारोबार तीव्र गतिमा बढेको खुलेको छ।
केही दिनको अन्तरालमै निजी कारसहित ६ जना पक्राउ परेपछि यो कारोबार फस्टाउँदै गएको प्रहरी तथ्यांकले देखाएको हो।

बुधवार दिउँसो १२ बजेतिर भद्रपुर नगरपालिका–७ स्थित आनी होटेल रोडबाट प्रहरीले एउटा कारमा सवार चार जनालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खडकाका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी–१३ निवासी ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दीपेश लामा र बेलकोटगढी–११ निवासी २३ वर्षीय राम तामाङ छन्।
वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालको नेतृत्वमा खटिएको टोलीले भारतबाट लागुऔषध लिएर काठमाडौं फर्किंदै गरेको बा.प्र.०१–३–च ०८७७ नम्बरको हुन्डाई क्रेटा कारलाई रोकी जाँच गर्दा गाडीभित्र रहेको झोलाबाट २०० ग्राम ३९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो।
पक्राउ परेका व्यक्तिहरूको साथबाट सात थान मोबाइल फोन र उक्त कार समेत बरामद गरिएको छ। उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गर्न झापा जिल्ला अदालतबाट सात दिनको म्याद लिइसकेको डिएसपी खडकाले बताए।
यसअघि असार ७ गते भद्रपुर–५ स्थित भन्सार गेट नजिकैबाट अर्को कारमा लागुऔषध लिएर काठमाडौं जान लागेका दुई जना पक्राउ परेका थिए।
काठमाडौं–२६ निवासी २४ वर्षीय निवेश कुवेर र लमजुङ कोलासोतार गाउँपालिका–७ की २२ वर्षीया नोजिना रानालाई प्रहरीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको थियो। उनीहरू सवार बा.प्र.०१–०३० च ७७९३ नम्बरको नेटा इभी कारबाट ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो।
त्यस्तै, वैशाख ३१ गते गौरीगंज गाउँपालिका–३ स्थित गौरीगंज बजारबाट पनि दमकका भूपेन्द्र राई, भारतका भोला ठाकुर र मोनाजिर आलमलाई पक्राउ गरिएको थियो। उनीहरूको साथबाट १०० ग्राम ०९० मिलिग्राम ब्राउन सुगर, एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल र ना.१ च. ९१६२ नम्बरको कार बरामद गरिएको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी राजन लिम्बूका अनुसार हाल सीमावर्ती बजारहरूमा निजी सवारी साधन प्रयोग गरी लागूऔषध किन्न आउने र पहाडी जिल्लाहरूमा पुर्याउने गिरोह सक्रिय छ।
“दुई महिनाको अवधिमा मात्र तीन वटा फरक कार प्रयोग भएको देखिन्छ,” उनले बताए। उनका अनुसार, पछिल्लो त्रिवर्षीय तथ्यांक हेर्दा झापामा ब्राउन सुगर बरामदको दर निरन्तर बढिरहेको छ।
आर्थिक वर्ष २०७९/८० मा १,५५८ ग्राम ४५९ मिलिग्राम, २०८०/८१ मा २,१७४ ग्राम १९५ मिलिग्राम र चालु वर्षमा आजसम्म २,००५ ग्राम १६५ मिलिग्राम ब्राउन सुगर बरामद भइसकेको छ।
एसपी लिम्बूले लागुऔषध तस्करी नियन्त्रण गर्न सीमावर्ती क्षेत्रहरूमा प्रहरीको उपस्थिति र निगरानी अझ सशक्त बनाइएको जानकारी दिए !



