
कैलाली— बैंकिङ कसुर मुद्दामा १० दिनको कैद सजाय तोकिएका २८ वर्षीय व्यवसायी हरिशसिंह पालीको कैलाली कारागारमा मृत्यु भएको छ। कारागार चलान भएको दोस्रो दिनमै, असार २ गते राति पालीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का पालीलाई जेठ २९ गते अमरगढी नगरपालिका–५, तुफानडाँडाबाट पक्राउ गरी जेठ ३१ गते अदालतमा पेस गर्ने तयारी गरिएको थियो। शनिबार परेकाले उनलाई असार १ गते अदालतमा पेस गरियो र त्यही दिन कैलाली कारागार चलान गरिएको थियो।

कारागारमा बिरामी परेका पालीलाई सोमबार राति साढे ११ बजे सेती प्रादेशिक अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा राति सवा १२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले कारागारभित्र बिरामी परेका पालीको मृत्यु भएको पुष्टि गर्दै मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने बताए।
तर पीडित परिवारले मृत्युलाई शंकास्पद भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन्। उनीहरूले प्रदर्शनसमेत गरेका छन्।
कैलाली जिल्ला अदालतले ०८० फागुन २९ गते पालीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक हरिजित नाथको उजुरीका आधारमा कारवाही गरिएको थियो।



