
बारा, असार ४— बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ स्थित बघवन टोलमा पुरानो रिसीवीका कारण एक व्यक्तिको ज्यान जाने गरी भएको कुटपिट घटनामा संलग्न चार जना पक्राउ परेका छन् भने अन्य फरार अभियुक्तको खोजी तीव्र गतिमा भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
जेठ २९ गते बेलुका करिब ६:१५ बजे ५० वर्षीय नन्दु राउत कुर्मीमाथि उमेश जैसवालसहित ६ जनाको समूहले सामूहिक कुटपिट गरेका थिए। गम्भीर घाइते कुर्मीलाई तत्काल प्रादेशिक अस्पताल, कलैयामा लगिएको भए पनि उपचारकै क्रममा सोही दिन साँझ ७:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीको सक्रियतामा सोही दिन २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरी जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको थियो। त्यसपछि प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा खटिएको विशेष टोलीले अन्य तीन जना अभियुक्तलाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मुख्य अभियुक्त उमेश जैसवालकी ३८ वर्षीया पत्नी रन्जु जैसवाल, उनका २० वर्षीय छोरा सुमित जैसवाल र १८ वर्षीय छोरा सुजित कुमार जैसवाल छन्। प्रहरीका अनुसार, रन्जुलाई कलैया–५ स्थित सागर लामिछानेको घरबाट, र सुमित तथा सुजितलाई पर्साको वीरगंज महानगरपालिका–१ स्थित बसिर मियाँको घरबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
उनीहरूविरुद्ध अदालतबाट म्याद थप गराई ज्यानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। घटनाका अन्य फरार अभियुक्तहरूको पहिचान तथा खोजी कार्यलाई समेत प्रहरीले तीव्रता दिएको जनाएको छ।



