बाँके, जेष्ठ २८ –सामाजिक रूपान्तरण र डिजिटल युगका चुनौतीहरूप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरोकार केन्द्रले बाँके जिल्लाका ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७०० भन्दा बढी विद्यार्थीलाई लक्षित गर्दै ‘जनचेतना मुलुक कार्यक्रम’ सम्पन्न गरेको छ। तीन दिनसम्म सञ्चालन भएको यो कार्यक्रम जेष्ठ २६ देखि २८ गतेसम्म जानकी गाउँपालिकाको सहआयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमको मुख्य उद्देश्य साइबर अपराध, लागुऔषध दुरुपयोग, वैदेशिक रोजगार सम्बन्धी ठगी र मानव तस्करी जस्ता समसामयिक सामाजिक चुनौतीहरूबाट विद्यार्थीहरूलाई व्यवहारिक जानकारीसहित सचेत गराउनु रहेको थियो।

कार्यक्रममा सरोकार केन्द्रका अध्यक्ष, पूर्व डिएसपी तथा हाल अधिवक्ता र सामाजिक अभियन्ताका रूपमा परिचित गोविन्द पन्थीले विद्यार्थीहरूलाई प्रत्यक्ष प्रशिक्षण दिनु भएको थियो । उनले सामाजिक सञ्जालमा बढ्दो ब्ल्याकमेलिङ, फेक अकाउन्ट, यौनजन्य शोषण र अनलाइन ठगी जस्ता विषयमा चेतावनीमूलक उदाहरण प्रस्तुत गर्दै, डिजिटल सतर्कताको महत्त्व प्रस्ट्याए।

त्यस्तै, केन्द्रका महासचिव तथा खोज पत्रकार जीवन शर्माले पनि आफ्ना अनुभव बाँड्दै भने, “हामी सरोकार केन्द्रमार्फत शिक्षाको माध्यमबाट जनचेतना फैलाउँदैछौं। साइबर अपराध र वैदेशिक ठगीका कारण जीवनभरका सपना भत्किएका धेरैको कथा हामीले देखेका छौं। अब सचेतनाले मात्र यस्तो दुर्घटना रोक्न सकिन्छ।”

कार्यक्रमको उद्घाटन समारोहमा जानकी गाउँपालिकाका अध्यक्ष छव्वन खान प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै, सामाजिक विकास संयोजक राम अचल धोबी र विपद् व्यवस्थापन समिति संयोजक राजेन्द्र सिंहको पनि उपस्थिति थियो।

विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत नरबहादुर बी.क.ले भन्नु भयो , “डिजिटल युगमा साइबर सुरक्षा सबैका लागि अनिवार्य विषय बनेको छ। विशेष गरी विद्यार्थीहरूलाई समयमै सचेत गराउन सकेमा भविष्यमा हुने ठगी र अपराधबाट बचाउन सकिन्छ।”

त्यस्तै, विशेष अतिथि जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीले साइबर अपराधलाई केवल प्राविधिक मात्र नभई सामाजिक र मनोवैज्ञानिक चुनौतीको रूपमा चित्रण गर्दै भने, “बालबालिका, किशोरकिशोरी र युवावर्ग सबैभन्दा बढी जोखिममा छन्। साइबर सुरक्षासम्बन्धी ज्ञान नहुदाँ यसको दुरुपयोग हुने सम्भावना उच्च हुन्छ। त्यसैले, परिवार र अभिभावकले समेत बालबालिकाको डिजिटल क्रियाकलापमा निगरानी राख्नुपर्छ।”

तीन दिनसम्म चलेको प्रशिक्षण कार्यक्रम विद्यार्थीहरूको सक्रिय सहभागितामा सजीव बन्यो। उनीहरूले आफैंले भोगेका वा वरपर देखेका साइबर जोखिम र सामाजिक समस्याहरू खुलस्त रूपमा प्रस्तुत गरे।

कार्यक्रममा उनीहरूलाई आत्मरक्षा, अभिभावकको भूमिकाको महत्त्व, र समाजमा हुने अमानवीय व्यवहारको प्रतिकार गर्ने तरिका पनि व्यवहारिक रूपमा सिकाइएको थियो।

सरोकार केन्द्रले यस्ता कार्यक्रमलाई देशभरका ग्रामीण तथा अर्ध-शहरी विद्यालयहरूमा निरन्तरता दिने योजना सार्वजनिक गरेको छ। महासचिव जीवन शर्माका अनुसार, “हामी केवल खबरदारीमा सीमित छैनौं, पीडितलाई कानुनी, मानसिक र सामाजिक सहयोग उपलब्ध गराउँदै उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यमा काम गरिरहेका छौं।”

समापन कार्यक्रममा सहभागी स्थानीय शिक्षक, अभिभावक र जनप्रतिनिधिहरूले सरोकार केन्द्रको अभियानको खुलेर प्रशंसा गर्दै यस्तो जनचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूको सोचाइमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय