काठमाडौं । विपद् व्यवस्थापन र उद्धार कार्यका लागि सशस्त्र प्रहरी बललाई ‘डेडिकेटेड फोर्स’ बनाउने भनिए पनि पर्याप्त तालिमको अभाव, कमजोर व्यवस्थापन, र डिआइजी स्तरका अधिकारीको लहडपूर्ण कार्यशैलीका कारण गम्भीर दुर्घटनाहरू दोहोरिन थालेका छन्। पछिल्लो उदाहरण सप्तकोसी नदीमा उद्धार अभ्यासका क्रममा दुःखद रूपमा ज्यान गुमाएका गोताखोर हरदेव राजवंशी र सुरज साउद हुन्।

यी दुवै जवान ‘डेमो’ अभ्यासको क्रममा सप्तकोसीमा बेपत्ता भए र फेरि फर्किएनन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह लगायत उच्च अधिकारीहरूको उपस्थितिमा आयोजना गरिएको ‘डेमो’ कार्यक्रम केही दिनदेखि चलिरहेको थियो, जसको समापनको तयारी अन्तिम चरणमा थियो। तर अभ्यास सकिनै लाग्दा पुनः नदीमा पसेका ती दुई गोताखोर कहिल्यै फर्किएनन्।

विपद् उद्धारको नाममा गरिने यस्ता ‘नक्कली अभ्यास’ (डेमो) हरूका क्रममा जीवन गुमाउने यो पहिलो घटना भने होइन। यसअघि पनि कोशी प्रदेशका तत्कालीन डिआइजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा भएको डेमोमा डुङ्गा पल्टिएको थियो। उक्त घटनामा चार पत्रकारसहित ११ जना नदीमा डुबेका थिए, जसमा केही गम्भीर घाइते भए।

हाल प्रदेश १ अन्तर्गत वराह बाहिनीको नेतृत्व सम्हालेका डिआइजी कुमार न्यौपाने कमाण्डमा आएपछि यस्तो दुर्घटना दोहोरिएको हो। उनी सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता समेत थिए। तर अहिले सम्म उनले तालिमको गुणस्तर, सुरक्षाको सावधानी वा पूर्वतयारीका विषयमा सार्वजनिक रुपमा कुनै जवाफदेही प्रस्तुत गरेका छैनन्। भीभीआइपी अगाडि कार्यक्रम देखाउन हतारमा तयारी अधुरो राखिएको आशंका प्रहरीभित्रै उठेको छ।

मधेसमा तस्करी नियन्त्रणभन्दा ‘डिजाष्टर भोलेन्टियर’लाई प्राथमिकता

यता मधेस प्रदेशमा तस्करी नियन्त्रणको जिम्मेवारी पाएका डिआइजी कृष्ण ढकाल ‘डिजाष्टर भोलेन्टियर’ नामक स्वयंसेवक समूह निर्माणमा केन्द्रित देखिन्छन्। मधेसका सबै आठ जिल्लाको कमाण्ड सम्हालेका ढकालले कार्यभार सम्हालेको दिनदेखि नै अनुशासन, इमान्दारिता र निष्पक्षताको कुरा गरेका थिए। तर व्यवहारमा उनले तस्करी नियन्त्रणको जिम्मेवारीभन्दा विपद् स्वयंसेवक बनाउने अभियानलाई प्राथमिकता दिएका छन्।

विशेषगरी पर्सा, बारा र रौतहटजस्ता तस्करीका संवेदनशील नाकाहरूको अनुगमन गरे पनि, तिनको नियन्त्रणमा ठोस परिणाम देखिएको छैन। धनुषाको मैनाथपुर जस्तो चर्चित तस्करी नाका छोडेर विपद् स्वयंसेवक बनाउने अभियानमा लागेको भन्दै सशस्त्र प्रहरी भित्रैबाट उनीमाथि प्रश्न उठ्न थालेका छन्।

सशस्त्र प्रहरी भित्रको नीति र कार्यशैलीमा देखिएको यो असमञ्जस्यले जनधनको सुरक्षाभन्दा पनि भीभीआइपी प्रदर्शन, राजनीतिक सन्तुष्टि र आन्तरिक शक्ति प्रदर्शनमा बढी केन्द्रित भइसकेको देखिन्छ। राज्यका लागि समर्पित उद्धार बलका नाममा निरर्थक प्रदर्शन र तालिमविहीन गतिविधिले सुरक्षाकर्मीको ज्यान जाने अवस्था आयो भने यसको जिम्मा कसले लिने?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय