
काठमाडौँ –काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका दुई पाङ्ग्रे सवारी साधनहरू काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीहरूलाई हस्तान्तरण गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका क्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले १२ ओटा स्कुटर र १० ओटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएका हुन्।

उक्त सवारी साधनहरू काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजतलास गरिएको हो। खोजतलासका क्रममा केही सवारी साधनहरू वास्तविक नम्बर प्लेटमा भेटिएका थिए भने केही नक्कली नम्बर प्लेट राखिएको अवस्थामा फेला परेका थिए।
हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्वर, कपन, मुड्खु, स्वयम्भु, ईमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट ती सवारी साधनहरू फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार, आज हस्तान्तरण गरिएका २२ ओटा सवारी साधनसहित गत साउन महिनादेखि हालसम्म जम्मा ४६७ ओटा दुई पाङ्ग्रे सवारी साधनहरू सम्बन्धित धनीलाई जिम्मा लगाइसकिएको छ।
यस अवधिमा चोरी भएका ४४ ओटा दुई पाङ्ग्रे सवारी साधनहरू पनि फेला पारिएको छ भने ती घटनामा संलग्न ६६ जना व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।



