
मधेश ।कुनै समय मधेस प्रदेशका युवाहरूबीच नेपाल प्रहरीको जागिर अत्यन्तै आकर्षक मानिन्थ्यो। तर पछिल्लो समय उक्त सेवाप्रति मोह घट्दो देखिएको छ। विशेष गरी तल्लो दर्जाका प्रहरी कर्मचारीहरू विभिन्न कारण देखाउँदै राजीनामा दिने प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ।
नेपाल प्रहरी सेवाबाट राजीनामा दिनेहरूका अनुसार न्यून तलब, अत्यधिक कार्यभार, राजनीतिक हस्तक्षेप, पारिवारिक जीवनमा असन्तुलन र वैदेशिक रोजगारीको आकर्षणले उनीहरूलाई जागिर त्याग्न बाध्य बनाएको हो।

प्रहरी जवानहरूको मासिक तलब झण्डै २६ हजार रुपैयाँ मात्र रहेको छ, जसमा खाद्यान्न भत्ता पनि समावेश हुन्छ। दैनिक खर्च, पारिवारिक दायित्व र भविष्य सुरक्षित गर्न यो रकम अपुरो हुने गुनासो उनीहरूले बारम्बार गर्दै आएका छन्।
निजामती सेवाका कर्मचारीले ८ घण्टाको ड्युटीपछि घर फर्केर परिवारसँग समय बिताउने सुविधा पाउँदा प्रहरीहरूलाई भने दिनरात नभनी, कहिलेकाहीँ १८ घण्टासम्मको ड्युटी गर्नुपर्ने बाध्यता हुन्छ। यसले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरेको छ।
प्रहरीहरूले ड्युटीका लागि आवश्यक पोसाकसमेत समयमा नपाउने गुनासो गरेका छन्। तीन वर्षमा एक जोर जुत्ता र वर्षमा दुई सेट पोसाक मात्र उपलब्ध हुने हुँदा ती पोसाक लामो ड्युटीका लागि टिकाउ नहुने उनीहरूको भनाइ छ। कतिपय अवस्थामा प्रहरी पुराना र फाटेका पोसाकमै ड्युटी गर्न बाध्य हुन्छन्।
ड्युटीको क्रममा गम्भीर घाइते भएका प्रहरीहरू उपचार खर्च आफैँले व्यहोर्नुपर्ने अवस्था रहेको गुनासो सुनिन्छ। कतिपयले ऋण लिएर वा खेत बेचेर उपचार गराउनु परेको पीडा पोखेका छन्। अर्कोतर्फ, विभिन्न प्रदेशमा सरुवा हुँदा परिवारसँग टाढा बस्नुपर्ने बाध्यताले पारिवारिक जीवनमा असन्तुलन र मनोवैज्ञानिक तनाव थपिएको छ।
प्रहरी सेवाबाट १६ वर्ष पूरा गरेपछि पेन्सनको व्यवस्था भए पनि सेवा अवधिको आधारमा सुविधामा खासै भिन्नता नरहेकोले धेरैले १६ वर्षमै राजीनामा दिने गरेको देखिन्छ। १६ र ३० वर्ष सेवा गरेकाबीच प्रायः समान सुविधा हुने हुँदा लामो सेवाको प्रोत्साहन घटेको हो।
एक आर्थिक वर्षमै ८३ जना प्रहरीको राजीनामा
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्ममा मात्र ८३ जना प्रहरीले राजीनामा दिएका छन्। तीमध्ये
• बरिष्ठ सई : १ जना
• असई : १४ जना
• बरिष्ठ हवलदार : २१ जना
• हवलदार : ३१ जना
• सहायक हवलदार : ४ जना
• जवान : ९ जना
• कार्यालय सहयोगी : ३ जना रहेका छन्।
मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले प्रहरी सेवाबाट राजीनामा दिने प्रवृत्ति देशभर बढ्दो रहेको स्वीकार गरेका छन्। उनका अनुसार महँगीअनुसार तलब, भत्ता र सुविधा नबढेकोले यस्तो अवस्था आएको हो।
उनले प्रहरीका छोराछोरीको शिक्षा, परिवारसहितको स्वास्थ्य उपचार, ड्युटीका आधारमा अतिरिक्त भत्ता र राशन व्यवस्था भएमा जागिरप्रति पुनः आकर्षण बढ्नसक्ने बताए।



