
सर्लाही ।वर्षौंदेखि अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने दुर्गा भगवती गाउँपालिका–५ स्थित बागमती खोलाको पुल अझै निर्माण नहुँदा जनजीवन प्रभावित बनेको छ।
निर्माणाधीन पुल समयमै सम्पन्न नहुँदा, वर्षायाममा खोलाको पानी बढेपछि यात्रुहरू डुङ्गाको सहारामा जोखिम मोलेर नदी पार गर्न बाध्य छन्। सर्लाहीतर्फ खेती गरिरहेका रौतहटका स्थानीय किसान तथा यात्रुहरूका लागि यो अवस्था दिनप्रतिदिन कष्टकर बन्दै गएको छ।

हुलाकी राजमार्ग मधेशको ‘लाइफलाइन’ मानिन्छ। तर, आधारभूत पूर्वाधारको यथाशीघ्र निर्माण नहुनु राज्यको उदासीनता र कमजोर कार्यान्वयन क्षमता झल्काउने संकेत हो।
स्थानीयबासीहरूले पटक–पटक सम्बद्ध निकायमा ध्यानाकर्षण गराउँदै आएका छन्, तर समस्या समाधान हुने संकेत देखिएको छैन। यसले यात्रुको सहज आवागमन मात्र होइन, सामाजिक–आर्थिक विकासमा समेत बाधा पुर्याइरहेको छ।
समयमै पुल निर्माण सम्पन्न नभएसम्म, हुलाकी राजमार्गको उद्देश्य र महत्व दुवै अधुरो रहने देखिन्छ।



