
सप्तरी— सप्तरीको सुरुङा नगरपालिका–८ मल्हनमा डकैतीपछि ५० वर्षीय कान्तलाल चौधरीको हत्या भएको घटनापछि मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदी शनिबार बिहान स्थलगत निरीक्षणका लागि घटनास्थल पुगेका छन्।
डिआइजी चतुर्वेदीले घटनास्थलको अवलोकन गर्दै सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालाई संलग्न व्यक्तिलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाहीमा ल्याउन निर्देशन दिएका छन्।

“यो जघन्य अपराध हो, संलग्नलाई चाँडै कानुनी दायरामा ल्याइन्छ,” डिआइजी चतुर्वेदीले घटनास्थलमै पीडित परिवारलाई आश्वस्त पार्दै भने, “जघन्य अपराध भएकाले म स्वयं निरीक्षणमा आएको हुँ, सूक्ष्म अनुसन्धान भइरहेको छ, संलग्न भाग्न पाउँदैनन्।”
घटनापछि प्रहरीद्वारा तालिमप्राप्त कुकुर (जंगो) को सहयोगमा अनुसन्धान अगाडि बढाइएको छ। सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार, प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मगाइएको कुकुरको सहयोगमा सुराकी र प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको छ।
घटनास्थलबाट प्रहरीले तीन राउन्ड जीवित गोली र एउटा गोलीको खोका बरामद गरेको छ। साथै शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेको जानकारी दिइएको छ।
प्रहरीका अनुसार, बिहीबार राति करिब १२ बजे चौधरीको घरमा डकैती गर्न पसेका लुटेरा समूहलाई प्रतिकार गर्ने क्रममा डाकाहरूले उनलाई गोली प्रहार गरेका थिए। गोली ढाँड र घाँटीको बीचमा लागेको थियो, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको हो।
प्रतिरोधका क्रममा मृतक चौधरीका भाइ रामाकान्त चौधरी पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको थियो र उपचारपछि उनी घर फर्किसकेका छन्।
डकैतीमा संलग्न समूहले घरबाट करिब ५० हजार नगद, ५ तोला सुन, २ किलो चाँदीसहितका सरसमान लुटेर लगेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान तीव्र बनाएको छ। दोषीहरूलाई कानुनी दायरामा ल्याउन प्रदेश प्रहरी नेतृत्व प्रतिवद्ध देखिएको छ।



