काठमाडौं । सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक (आईजी) स्व. कृष्ण मोहन श्रेष्ठ र उनकी धर्मपत्नी नुडुप श्रेष्ठको अर्धकद शालिक अनावरण गरिएको छ। श्रेष्ठ सशस्त्र प्रहरी बलको आईजी रहँदा माओवादीद्वारा हत्या गरिएको थियो।

उनीहरूको स्मृतिमा संखुवासभाको चैनपुरस्थित जन्मस्थानमा निर्माण गरिएको शालिक सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक राजु अर्यालले मंगलबार एक विशेष समारोहबीच अनावरण गरेका हुन्।

कार्यक्रममा चैनपुर नगरपालिकाका प्रमुख कृष्ण कुमार तामाङ, उपप्रमुख एलिना श्रेष्ठ, स्व. श्रेष्ठकी बहिनी तथा प्रतिष्ठान अध्यक्ष निर्मला प्रधान, प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेल, जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायत परिवारका सदस्य र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति थियो।

त्यसैगरी, पूर्व प्रहरी महानिरीक्षक कुबेर सिंह राना, पूर्व सशस्त्र प्रहरी आईजी दुर्ज कुमार राई, एआईजी बंशीराज दाहाल, पूर्व अतिरिक्त आईजी नारायण बाबु थापा, नम्बर १ बाहिनीका बाहिनीपति कुमार न्यौपाने, पूर्व नायब महानिरीक्षक दिलीप कुमार श्रेष्ठ र खड्ग बहादुर राई पनि कार्यक्रममा सहभागी थिए।

सो अवसरमा सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले स्व. श्रेष्ठको योगदानलाई उच्च सम्मान गर्दै उनको सपना साकार पार्न संगठन पूर्ण समर्पणका साथ क्रियाशील रहेको बताए। उनले मन, वचन र कर्मबाट राष्ट्र सेवामा समर्पित हुने हो भने त्यो नै स्व. श्रेष्ठप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरे।

अनावरण समारोहमा नगर प्रमुख तामाङ, उपप्रमुख श्रेष्ठ, पूर्व सशस्त्र प्रहरी प्रमुख राई, पूर्व संघका अध्यक्ष थापा लगायतले पनि आ–आफ्नो विचार राखेका थिए।

सशस्त्र प्रहरी प्रमुख अर्यालको चैनपुरमा उपस्थितिलाई स्थानीयले सम्मानको प्रतीकका रूपमा लिएका छन्। कार्यक्रमपूर्व उनले चैनपुरको टोलमा पैदल हिँडेर स्व. श्रेष्ठको जन्मघर, अध्ययन गरेको तथा पढाएको विद्यालय, पूर्व सशस्त्र प्रहरी अधिकृतहरूका निवासको अवलोकन गरेका थिए। साथै, श्रेष्ठ परिवारसँग पनि भेटघाट गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय