
दिपक राज जोशी /सुरक्षा सरोकार — सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा रहेको इलाका प्रहरी कार्यालय, कर्मैयाले पुनः एकपटक उल्लेखनीय सफलता हात पारेको छ। बुटवलबाट मोरङतर्फ गइरहेको प्र. ३–०१–००५ ख ९४६० नम्बरको ट्रकलाई शंकास्पद ठहर गर्दै रोकिएको जाँचका क्रममा झन्डै ४८ लाख रुपैयाँ बराबरको राजश्व छली गरिएको सामग्री नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार, ट्रकमा लोड गरिएको सामानको बिल शंकास्पद पाइएपछि थप अनुसन्धान गरी उक्त सामग्री नियन्त्रणमा लिइएको हो। ती सामग्रीमा जिरा पाउडर, कस्मेटिक वस्तुहरू, टायर, हेलमेट, मोटर पार्ट्स, ब्याट्री, औषधि, मेसिन, हार्डवेयर सामग्री, किचेन सिंक लगायतका विभिन्न खुद्रा सामानहरू समावेश छन्। सामग्रीसहितको ट्रकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको छ। यस कारबाहीले प्रहरीको अपराध नियन्त्रणप्रतिको प्रतिबद्धता र नतिजामुखी कार्यशैली पुनः पुष्टि गरेको छ।


सई सुवास यादव : कर्मैयाका तेजस्वी प्रहरी कमाण्डर
उक्त सफल कारबाहीको नेतृत्व इलाका प्रहरी कार्यालय, कर्मैयाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) सुवास यादवले गरेका हुन्। सई यादवको कमाण्डमा रहँदा कर्मैया प्रहरीले अहिलेसम्म झन्डै ४ करोड रुपैयाँभन्दा बढीको राजश्व छली सामग्री नियन्त्रण गर्न सफल भएको छ, जुन तथ्यले उनको नेतृत्व क्षमताको सशक्त प्रमाण दिन्छ। तर उनको योगदान केवल राजश्व छली नियन्त्रणमै सीमित छैन। सई यादवले चोरी, अपहरण, लागुऔषध कारोबार, नक्कली नोट, अवैध हतियार जस्ता संगठित अपराधहरूलाई समेत प्रभावकारी रूपमा नियन्त्रणमा ल्याउँदै आएका छन्।
हालै, उनले नेतृत्व गरेको टिमले तीन जना व्यक्ति र ठूलो परिमाणको लागुऔषध नियन्त्रणमा लिन सफल भएको छ। साथै, नक्कली नोट कारोबार गर्ने गिरोह र अवैध हतियार राख्ने अपराधीहरूलाई पक्राउ गर्नु उनको चनाखो निगरानी र दूरदर्शी योजना निर्माण क्षमताको प्रतिफल हो।

जन–विश्वासको केन्द्र बनेका सई यादव
स्थानीय जनप्रतिनिधिहरू, व्यापारी वर्ग, सामाजिक अभियन्ता र सर्वसाधारणले सई यादवप्रति गहिरो सम्मान र विश्वास प्रकट गर्दै आएका छन्। उनको ईमानदार छवि, चौबीसै घण्टा सक्रियता, अपराधप्रतिको शून्य सहनशीलता, र सशक्त समुदाय–समन्वयले सर्लाही जिल्लामा शान्ति र सुव्यवस्था कायम गर्न उल्लेखनीय भूमिका खेलेको छ। सई यादवको सेवा केवल कानुनी कार्यप्रणालीसम्म सीमित छैन—उनी समुदाय–मैत्री प्रहरी अवधारणाका जीवन्त उदाहरण बनेका छन्। उनले प्रत्येक मुद्दालाई प्राथमिकताका साथ हेर्ने, जनताको आवाज सुन्ने, र आफ्नो टोलीसँग मिलेर जोखिम मोल्ने व्यवहारले प्रहरीको छविलाई अझ उज्यालो बनाएका छन्।
साथै सई सुभाष यादवको समन्वय भारतीय प्रहरीसँगको सहकार्यमा सीमा नाकाबाट हुने आपराधिक क्रियाकलाप रोकथाममा उल्लेखनीय योगदान पुगेको छ। चोरी,लागुऔषध कारोबार , बालबालिका तस्करीलगायत गतिविधि रोक्न उनले सक्रिय भूमिका खेलेको स्थानीयवासी रोशन यादवले जानकारी दिए।

कर्मैयाको प्रहरी कार्यालय : अनुकरणीय प्रहरी इकाईको उदाहरण
आज, सई यादवको नेतृत्वमा कर्मैयाको प्रहरी कार्यालय नेतृत्व समालेको करिव ५ महिना भयो यो समयमा राजश्व छली, लागुऔषध कारोबार र आपराधिक गतिविधिहरू विरुद्धको सशक्त मोर्चा बनेको छ। प्रहरी स्रोतका अनुसार, यस इकाइको चौबीसै घण्टाको सक्रिय निगरानी र प्रभावकारी अनुसन्धान कार्यशैलीले सर्लाही जिल्लाभरि प्रहरीप्रतिको जनविश्वास बलियो बनाएको छ।
“सर्वोत्तम अनुसन्धानकर्ता” को राष्ट्रिय स्तरको सम्मान
प्रहरी दिवस को अवसरमा, तत्कालीन प्रहरी महानिरीक्षक आईजी बसन्त कुँवरले सई सुवास यादवलाई “सर्वोत्तम अनुसन्धानकर्ता” को रूपमा विशेष सम्मान प्रदान गरेका थिए। यो सम्मान केवल एक पुरस्कार मात्र होइन—यो सई यादवको अनुसन्धान क्षमताको संस्थागत तथा राष्ट्रिय स्तरमा भएको उच्च मूल्याङ्कन हो। उनले नेतृत्व गरेका गम्भीर आपराधिक घटनाहरूको सफल अनुसन्धान, लागुऔषध नियन्त्रण, संगठित अपराध भण्डाफोर लगायतका मुद्दाहरू प्रहरी संगठनका लागि आज प्रेरणाको श्रोत बनिसकेका छन्।




