
काठमाडौं । नेपाल प्रहरीका दुईजना हवलदारसहित २१ जना प्रहरी कर्मचारी हालसम्म आफैँखुसी गैरहाजिर रहेका छन्। प्रहरी प्रधान कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै उनीहरूलाई सात दिनभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन आह्वान गरेको हो।
फागुन र चैत महिनादेखि सम्पर्कविहीन रहेका ती प्रहरीमध्ये दुईजना हवलदार, चारजना सहायक हवलदार, १४ जना प्रहरी जवान र एकजना प्रहरी कार्यालय सहयोगी छन्।

प्रहरीको सूचनामा भनिएको छ, “यदि सात दिनभित्र कारण खुलाउँदै सन्तोषजनक जवाफसहित सम्बन्धित कार्यालयमा हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अनुसार कसुरमा कारबाही गरी नियम १०९ को देहाय (ख) (१) अनुसार सेवाबाट हटाइनेछ।”
स्रोतका अनुसार, गैरहाजिर भएका धेरैजसो प्रहरी कर्मचारीहरू सेवा सुविधाको कमि, मनोबलको गिरावट, पारिवारिक दबाब र अवकासको समय नजिकिँदै जाँदा स्वेच्छिक रूपमा सम्पर्कविहीन हुने अवस्थामा पुगेका हुन्।
धेरै वर्षको सेवा जीवनपछि आर्थिक, मानसिक र पारिवारिक कारणले कतिपय प्रहरी कर्मचारीहरू जिम्मेवारीबाट अलग रहन थालिरहेका छन्। प्रहरी संगठनले उनीहरूलाई पुनः सम्पर्कमा ल्याउने प्रयास गरिरहेको भए पनि लामो समयसम्म कार्यस्थलमा नदेखिनु सेवा अनुशासनको गम्भीर उल्लंघन मानिन्छ।
यस प्रकारको अवस्था प्रहरी संगठनको आन्तरिक व्यवस्थापन, जनशक्ति मनोबल र सेवासम्बन्धी नीतिप्रति पनि प्रश्न उठाउने खालको बनेको छ। प्रहरी प्रधान कार्यालयले यस्ता घटनालाई रोक्न कार्यसम्पादन सुधार र सेवा सुविधा सन्तुलनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।




