
धनुषा — चार महिनाअघि श्रीमतीको हत्या गरी शव घरमै गाडेर फरार भएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–५, बनिनीयाँका ४० वर्षीय हरिराम यादव पक्राउ परेका छन्।
उनले आफ्नी २५ वर्षीया श्रीमती अंजली यादवलाई चैत १७ गते हत्या गरी शवलाई आफ्नै घरको कूलदेवताको पूजाकोठामा खाल्डो खनी गाडेको खुलेको छ। हत्यापछि हरिराम १० महिनाको छोरीलाई लिएर फरार भएका थिए।

धनुषा प्रहरी उपरीक्षक नरहरी रेग्मीका अनुसार हरिरामलाई धनुषाकै खजुरी रेलवे स्टेशनबाट पक्राउ गरिएको हो। उनले बताए अनुसार, हरिरामले श्रीमतीको हत्या गरी शव गाडेपछि घरको ढोकामा बाहिरबाट ताला लगाई फरार भएका थिए।
तीन–चार दिनसम्म घरमा कोही देखिनु नसकेपछि र ढोका बाहिरबाट बन्द रहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरी घटनास्थल पुगेर घरको ताला फोरेर भित्री तलामा रहेको कूलदेवताको कोठा जाँच गर्दा नयाँ सिमेन्टको ढलान गरिएको भेटिएको थियो।
उक्त स्थान खनेर जाँच गर्दा करिब दुई फिट जमिनमुनि गाडिएको अवस्थामा अंजलीको शव फेला परेको एसपी रेग्मीले जानकारी दिए।
मृतक अंजलीकी बुबा शिवधारी यादवले ज्वाइँ हरिरामविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो।
हरिराम हाल प्रहरी नियन्त्रणमा छन् भने उनीसँगै फरार भएकी १० महिनाकी छोरी अझै फेला परेकी छैनन्। प्रहरीका अनुसार छोरीको खोजी कार्य जारी छ।



