काठमाण्डौं— नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी संगठनको इतिहासमा नयाँ अध्यायको थालनी गरेकी छिन्। महिला प्रहरीको नेतृत्व गर्दै सगरमाथा चढ्ने उहाँ पहिलो प्रहरी बन्नु भएको छ, जसले प्रहरी संगठनको गौरव थप उच्च बनाएको छ।

सोलुखुम्बु घर भएकी शेर्पाले सोमबार बिहान ८ः५६ बजे सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको हो। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा को सचिवालयका अनुसार उहाँले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गर्दै शेर्पाको साहस र उपलब्धिलाई उच्च सम्मान दिएका छन्।

शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्युरो मा कार्यरत छिन्। चैत २५ गते प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत आईजीपी थापाले उहाँलाई लैङ्गिक हिंसाविरुद्धको सन्देश बोकेको ब्यानर हस्तान्तरण गर्दै सगरमाथा आरोहणको लागि बिदाइ गर्नुभएको थियो।

प्रहरी संगठनले उहाँको साहस, समर्पण र उद्देश्यप्रति उच्च सम्मान प्रकट गर्दै आगामी दिनमा अझ प्रेरणादायी कार्यहरूमा सहभागी हुने विश्वास व्यक्त गरेको छ।

स्मरण रहोस्, यसअघि अघिल्लो वर्ष नेपाल प्रहरीका वरिष्ठ सई पुरुषोत्तम नेपालीले इन्टरपोलको १०० औं वर्षगाँठको अवसरमा सगरमाथा आरोहण गरेका थिए। तर, महिला प्रहरीको नेतृत्वमा सगरमाथा चढ्ने शेर्पा पहिलो बन्नु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय