हेटौंडा — केही दिनअघि मकवानपुर जिल्लाबाट चोरी भएका दुईवटा मालवाहक ट्रक चितवनमा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार ती ट्रकहरू सम्बन्धित मालिकहरूलाई सनाखत गराई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१२ निवासी ४१ वर्षीय ईश्वर बलामीको नाममा दर्ता भएको ना ३ ख ७३२० नम्बरको ट्रक गत वैशाख ३० गते नवलपुरस्थित एक ग्यारेजबाट चोरी भएको थियो। त्यस्तै, हेटौँडा–३ निवासी ४६ वर्षीय हरिबहादुर डंगोलको मे १ ख १४५७ नम्बरको ट्रक जेठ १ गते आफ्नै घर अगाडिबाट चोरी भएको प्रहरीमा दर्ता उजुरीमा उल्लेख छ।

प्रहरीले प्राप्त उजुरीका आधारमा खोजतलास गर्दा दुवै ट्रक चितवनको खैरहनी नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्गको सडक छेउमा फेला परेको जनाइएको छ।

बरामद गरिएका ट्रकहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएर आज सम्बन्धित धनीहरूलाई बुझाइएको छ।

उक्त चोरी घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन गरिएको छ भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय