
गोरखा — गोरखा जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हालेका प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर बिकले जिल्लाको शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्। हालै मात्र गोरखा आइपुगेका एसपी बिकले मंगलबार पत्रकारहरूसँगको अन्तरक्रियामा अपराध नियन्त्रण, कानून कार्यान्वयन र नागरिकको सुरक्षाका सवालमा कठोर रूपमा अघि बढ्ने स्पष्ट पारे।
“जनतालाई भर र अपराधीलाई डर हुने ढङ्गबाट हामी काम गर्छौं,” एसपी बिकले भने, “शान्ति सुरक्षा र अमनचयन कायम गर्न म कसैसँग सम्झौता गर्दिनँ। कानुनभन्दा माथि कोही हुँदैन, र अपराधमा संलग्न कोही उम्कन पाउँदैन।”

इमान्दार प्रहरीको परिचय बनाउने दृढता
आफू अहिलेसम्म एक इमान्दार प्रहरी अफिसरको रूपमा स्थापित भएको उल्लेख गर्दै उनले संगठनको भरोसा र जनताको विश्वास कायम राख्न कुनै कसर बाँकी नराख्ने बताए। “म जनताको सेवामा छु। जनताको विश्वास र संगठनको आस्था गुम्न दिन्न,” उनले थपे।
नयाँ रणनीति र सक्रिय अपरेसन स्टाइल
जिल्लाको भौगोलिक अवस्था जटिल र चुनौतीपूर्ण रहेको बताउँदै एसपी बिकले सुरक्षालाई नयाँ ढंगले सञ्चालन गर्ने योजना बनाइरहेको जानकारी दिए। “मैले पहिलो निरीक्षणमै फरक अपरेसन शैली अवलम्बन गरिरहेको छु,” उनले भने, “सबै पक्षसँगको छलफलपछि रणनीति तयार गरिनेछ।”
उनले जिल्ला प्रशासन, जनप्रतिनिधि, स्थानीय निकाय र अन्य सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरी सुझाव संकलन गरिरहेको पनि बताए।
अपराध नियन्त्रणदेखि सचेतनामूलक कार्यक्रमसम्म
गोरखामा हुने सम्भावित आपराधिक गतिविधिहरूको समयमै पहिचान, दोषीमाथि कडा कारबाही, कानूनी कार्यान्वयनमा कठोरता र आम नागरिकलाई सचेत पार्ने अभियान एकसाथ सञ्चालन गरिने उनको भनाइ छ। “अपराध गर्ने कोही पनि कानूनी कठघराबाट बच्न सक्दैन। निर्दोष फस्ने अवस्था आउँदैन,” उनले बताए।
स्रोत साधनको चुनौती र सुधारको योजना
एसपी बिकले जिल्लामा प्रहरी जनशक्ति दरबन्दी अनुसार नहुनु, आवश्यक स्रोत साधनको अभाव, भौगोलिक विकटता र अपराधका बदलिँदो स्वरुप प्रमुख चुनौतीका रूपमा रहेको स्वीकार गरे। यसलाई सम्बोधन गर्न उनले विभिन्न निकायसँग समन्वय गर्दै प्रहरीलाई आवश्यक स्रोत साधन उपलब्ध गराउने, भौतिक पूर्वाधार विकासमा जोड दिने र जनशक्ति व्यवस्थापनका लागि पहल गर्ने योजना अघि सारे।
गोरखाको शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध एसपी बिकको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयले अब कस्तो काम गर्छ भन्ने जनअपेक्षा उच्च छ। जनताको भरपर्दो सुरक्षाको प्रत्याभूति दिन उनले गरेको प्रतिवद्धता व्यवहारमा कत्तिको प्रभावकारी हुन्छ, हेर्न बाँकी छ।



