
काभ्रे— काभ्रे जिल्लाको शान्ति सुरक्षा कायम राख्न, तस्करी, गुण्डागर्दी र अवैध आर्थिक लेनदेन नियन्त्रण गर्न कुनै प्रकारको सम्झौता नहुने जिल्ला प्रहरी कार्यालय काभ्रेका नवनियुक्त प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) कोमल शाहले स्पष्ट रूपमा घोषणा गरेका छन्।
जिल्लाको कमाण्ड सम्हालेको केही दिनमै सञ्चारकर्मीसँग कुराकानी गर्दै एसपी शाहले भने, “जिल्लामा हुने तस्करी, गुण्डागर्दी, आर्थिक अपराध र अन्य आपराधिक गतिविधिमा संलग्नलाई कडाइका साथ नियन्त्रण गरिनेछ। कानून विपरीत गतिविधिमा माफीको कुनै स्थान छैन।”

उनले चोरी, लागूऔषध कारोबार, जुवा तास, घरेलु हिंसा, यौनजन्य हिंसा लगायतका अपराधमाथि शून्य सहनशीलता (Zero Tolerance) नीति अवलम्बन गरिने स्पष्ट पारे। साथै उनले भने, “फरार अभियुक्तलाई पनि प्रहरीको नियन्त्रणमा ल्याएरै छाड्नेछौं।”
एसपी शाहले नेपाल प्रहरीको मूल नारा “सत्य सेवा सुरक्षणम्” लाई आत्मसात् गर्दै जिल्लामा भयमुक्त र अपराधमुक्त वातावरण बनाउन निरन्तर प्रयास गर्ने अठोट दोहोर्याए। कुनै नयाँ नारा नदिई पुरानै सिद्धान्तमा आधारित रहेर जनताको सेवामा समर्पित रहने बताउँदै उनले भने, “नेपाल प्रहरीभित्र कोही पनि व्यक्ति संस्था बदनाम हुने गरी संलग्न भेटिए भने, उसमाथि तत्काल कारबाही हुन्छ।”
समाजमा व्याप्त आपराधिक गतिविधिहरू नियन्त्रण गर्न उनले विशेष अपरेशन संचालन गर्ने तयारी गरिरहेको जानकारी गराए। लागूऔषध दुव्र्यसन, गुण्डागर्दी, चोरी, तस्करी, जुवा, घरेलु हिंसा लगायतका अपराध नियन्त्रण प्राथमिकतामा पर्ने उनले बताए।
बजार क्षेत्र र व्यावसायिक प्रतिष्ठानहरूमा सिसिटिभी निगरानी प्रणाली मजबुत बनाउने, ड्रिङ्क एन्ड ड्राइभ (मापसे) नियन्त्रणका लागि नियमित चेकिङ्ग अभियान सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।
एसपी शाहले पत्रकार, नागरिक समाज, सर्वसाधारण तथा सरोकारवालासँगको सहकार्य अपरिहार्य रहेको भन्दै जनताको साथबिना प्रहरी संगठनले मात्र अपराध नियन्त्रण गर्न असम्भव हुने बताए। “समयमै सूचना दिनुहोस्, प्रहरी तपाईँको साथमा छ,” उनले आम काभ्रे बासीलाई आग्रह गरे।
अन्त्यमा, उनले जिल्ला प्रहरी कार्यालयबाट उपलब्ध गराइने सबै सेवा तथा सूचनाहरूलाई सही, छरितो र पारदर्शी ढंगले प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे। जिल्लालाई स्वच्छ, पारदर्शी, सुरक्षित र भयरहित बनाउन आफ्नो कार्यकालमा कुनै कसर बाँकी नराख्ने स्पष्ट सन्देश एसपी शाहले दिए।



